मच्छिन्द्रसँग न्युरोड पराजित, एपीएफ र मनाङ बराबरीमा रोकिए
काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबसँग मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबसँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलको १३ औं मिनेटमा कोफी कुडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको २० औं मिनेटमा नविन लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको २६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई २–२ गोलको बराबरीमा ल्याए ।
बराबरीसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ । एपीएफले २० खेलमा २३ अंक जोडेको छ ।
त्यस्तै, आइतबार नै च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले न्युरोड टिमलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
मच्छिन्द्रका लागि ओलावाले आफिजले खेलको १३ मिनेट र सौरभ लिम्वुले इन्जुरी समयमा गोल गरेका थिए । जितसंगै २० खेलमा मच्छिन्द्रले ३४ अंक जोडेको छ भने समान खेल खेलेको न्युरोड टिमको २३ अंक रहेको छ ।