नक्कली भुटानी शरणार्थी प्रकरणले लाज पनि लजाएको छ : गगन थापा
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को मानिस मुछिएको देख्दा लाज पनि लजाएको बताएका छन् ।
आज प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘अहिले जसरी नाम आउन थालेको छ, एकप्रकारले लाज पनि लजाएजस्तो भएको छ । को–को परेको हो ? को–को नपरेको हो ? सुन्दासुन्दै, बुझ्दै जाँदाखेरि हाम्रो वरिपरि भएका, हामीले देखिरहेका, जिम्मेवारी लिइरहेका मानिसहरू एकपछि अर्को तानिँदै जाने हुन् कि भन्नेजस्तो लाग्न थालेको छ,’ उनले भने ।
यस प्रकरणको अनुसन्धान कसरी भइरहेको भनेर आम नागरिकले हेरिरहेकाले सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने सांसद थापाले बताए ।
‘चाहे त्यो सलाम गर्ने मान्छे होस् । चाहे त्यो सलामी लिने मान्छे होस् । जसलाई छोएको छ, जसको नाम आएको छ । त्यसको फेयर अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन । मैले गरिनँ भनेर भन्ने कुराले कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन,’ उनले थपे ।