जलकुम्भीले सुक्दै ताल
भरतपुर– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैयामा यतिबेला जलकुम्भीले छोपिएका छन् । जलकुम्भी कारण फोटो खिच्न र टिकटक बनाउन आउनेको लर्को लागेको छ ।
पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । यसले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकामा चिन्ता बढेको छ ।
भरतपुर महानगरपालिका–५ केशरबागको नवज्योति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भीमलाल चापागाईँ वनभित्र रहेको किङफिसर तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँ आउने गरेको बताउँछन् ।
“दैनिक सात÷आठ सयसम्म पर्यटक यहाँ आएका छन् । यो भीड दुई सातादेखि बढेको हो”, उनले भने । पहिले फाट्टफुट्ट आउने भए पनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको छ उहाँको भनाइ छ । ताल क्षेत्रमा बिहान १० देखि ५ बजेसम्म प्रवेश खुला गरिएको अध्यक्ष चापागाईँले बताए ।
यहाँ आउने पर्यटक जलकुम्भीको फूल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा ‘गमलामा सार्छौँ’ भनेर पनि केहीले फूलसहितका जलकुम्भी लैजाने गरेको उनले सुनाए । वन प्रवेश गरेको एक जनाको २५ रुपैयाँ लिने गरिएको छ । मान्छे धेरै आउँदा आम्दानी नभएको होइन तर तालमा जलकुम्भी फैलँदा र फुल्दा ताल सुक्ने चिन्ता रहेको अध्यक्ष चापागाईँ बताउँछन् । पानी बग्ने क्षेत्रभन्दा जमेका पोखरीलाई जलकुम्भीले ढाकेको उनको भनाइ छ ।
दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यस वर्ष वर्षात्को कमी भएका कारण जलकुम्भी झार बढेको बताए । “पानीको सतह कम भएकाले मानिस तालमा जाने अवस्था भएको हो”, उनले भने, “पहिले पनि फुल्थ्यो । अहिले फूल टिप्ने र टिकटक बनाउने प्रचलन बढेको हो ।”
जलकुम्भीले ताललाई विनास गरेको उनी बताउँछन् । “अहिले जलकुम्भीका कारण ताल पुरिने अवस्थामा छ । ताल गहिराउनुपर्ने अवस्था छ । हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकटै काटेर प्रवेश गराएका छैनौँ”, उनले भने ।
बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनार जलकुम्भीलाई कमलको फूल भन्दै टाढा–टाढाबाट हेर्न आउने गरेको बताउँछिन् । “प्रत्येक दिन यहाँ आएर सयौँले यो जलकुम्भीबारे सोध्नुहुन्छ”, उनले भनिन्, “हामीले तालमा फुल्ने झार हो भनेर पठाउने गरेका छौँ ।” यो झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उनले बताइन् ।
चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेहरूले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सिर्जना गर्ने बताए । उनले भने, “यसले तालतलैया सुकाउँदै छ । जहाँतहीँ यसको समस्या छ, यसलाई आउनै दिनहुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ ।”
बीसहजारी ताल जलकुम्भीका कारण सङ्कटमा पुगेको उनले बताए । बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मेहनत र रकम खर्च भएको उनको भनाइ छ ।
“मान्छे प्रकृतिमा जान चाहन्छ, अहिले क्षणिक रमाइलो हेरेर हुँदैन । यहाँका तालमा पहिले थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्ने गरेको छ”, उनले भने ।
जलकुम्भीको फूल फुल्छ । बाक्लो हुँदै जान्छ । अर्को वर्ष कुहिँदै जान्छ । ताल माथिमाथि आउँछ र विस्तारै ताल सुक्छ । यहाँ हुने रैथाने झार चराका लागि पनि राम्रो भएको यादवको भनाइ छ । ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने भन्दै उहाँले यो प्रकृतिको महारोग भएकाले बेलैमा सोच्न जरुरी रहेको बताए ।
चितवन निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने वनस्पतिलाई संरक्षण गर्नुपर्ने बताउँछन् । उनी जैविक विविधता संरक्षण गरेर सबैको विविधता कायम गर्न सक्नुपर्ने भन्दै सबैको ध्यान यसतर्फ जानुपर्ने बताए । “डढेलो लाग्ने ठाउँमा जलकुम्भी बढी फैलन्छ र तालतलैया ढाक्छ । आगलागी नियन्त्रणलाई पनि ध्यान दिनुपर्छ । यसले दीर्घकालीनरूपमा असर गर्छ बेलेमा सोचेर समाधनतर्फ लाग्नुपर्छ”, उनले भने ।
निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले तालहरू नै नरहने जोखिम बढ्ने बताए । उनले यहाँका ताल यस क्षेत्रको सिँचाइको समेत स्रोत भएको जानकारी दिए ।
“यी तालहरु रिचार्ज सेन्टर हुन् । यिनको संरक्षणबिना सिमसार जोगाउने कुरा सम्भव हुँदैन । जलकुम्भीले तत्कालका लागि पर्यटक त भित्रिएला तर दीर्घकालीनरूपमा यसले असर गर्छ”, उनले भने । उनले सामुदायिक वन क्षेत्रको संरक्षण र उपभोग पनि स्थानीयले गर्ने भन्दै पर्यटक ल्याउनका लागि पनि अन्य दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताइन् । उनले यसको दीर्घकालीन समस्या समाधनका लागि संरक्षण कोषले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्र्याउनेभन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले तालहरू यहाँको कृषि प्रणालीसँग पनि जोडिएको बताए । उनले सबै संरक्षणकर्मी एक भएर सिमसार क्षेत्रको संरक्षणमा जुट्न आह्वान गरे ।