काभा भलिबल : नेपाल उज्वेकिस्तानसँग भिड्दै, फाइनल पनि आजै
काठमाडौं - काठमाडौंमा भइरहेको काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपालले आज तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
घरेलु टोली नेपाल र उज्वेकिस्तान बीचको खेल बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ। सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुन लागेको हो।
कजाकस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो। पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेलमा अग्रता बनाएको थियो। तर चौथो र पाँचौ सेटमा लय गुमाउँदा घरेलु समर्थक निराश बने।
प्रतियोगिताका दुई अपराजित टोली आजको खेल जित्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । उपाधिका लागि भारत र कजाखस्तानबीच आज फाइनल खेल हुँदैछ । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै दुवै टोली फाइनल पुगेका छन् र उपाधिबाट एक कदम मात्र टाढा छन् ।
फाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो ४ बजेपछि सुरु हुनेछ ।