नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले किन पत्यायो यस्तो बकम्फुसे बयान ?
गत बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरियो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सो प्रकरणमा पक्राउ परेका १६ जना र फरार सुचीमा रहेका १४ जना गरी ३० जना विरुद्ध मुद्दा दायर गरेको थियो । आफूहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै प्रतिव्यक्ति १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म लिएको तर अमेरिका नलगेको र पैसा पनि फिर्ता नगरेको भन्दै १२२ जनाले उजुरी दिएपछि प्रहरीले यो विषयको अनुसन्धान थालेको थियो ।
प्रहरीले यसपालि ठूलै आँट गर्यो । र, नेपालमा नेता र ठूलाबडालाई कानुन लाग्दैन भन्ने सत्यमाथि नै प्रश्न उठाइदियो । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, दोस्रो ठूलो दल तथा संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझी, बहालवाला सचिव टेकनारायण पाण्डे जस्ता प्रभावशाली व्यक्तिहरु पनि यसपाली राज्यको कानुनी कारबाहीको दायरमा आए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका ठूलाबडाहरु हतकडी नलगाइए पनि पकेटमार पटकेहरुसँगै प्रहरी हिरासतका पाहुना बने । आफ्नो देशका नागरिकलाई पैसा लिएर अर्काे देशको शरणार्थी बनाएर बेच्न खोज्ने बहालवाला सचिव र पूर्वमन्त्रीहरु प्रहरी चौकीमा ट्यापेका पार्टनर बने । सायद ‘पाप धुरीबाट कराएको’ यही होला ।
तर, नक्कली भुटानी शरणार्थी प्रकरणलाई प्रहरीले कमजोर बनाएको छ । साच्चै भन्ने हो भने त प्रहरीले यो प्रकरणमा संलग्नहरुसँग बकम्फुसे बयान लिएको छ ।
पक्राउ परेका व्यक्तिहरुविरुद्ध अभियोग दर्ता नभइ बयान सार्वजनिक भयो । राज्यको सबैभन्दा महत्वपूर्ण पद उपप्रधानमन्त्री, गृहमन्त्री र गृहसचिव बनेर मानव तस्करी गर्नेहरु विरुद्ध गरेको अनुसन्धानको गम्भीरता प्रहरीले महसुस गर्न सकेन । यति गम्भीर विषयमा पनि कुनै ट्यापे वा पटके समातेको जस्तैगरी प्रहरी प्रस्तुत भयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले गरेको बयानका विषयमा प्रहरी छ्याङ्गै होइन, नाङ्गै देखियो । पारदर्शिता भनेको नाङ्गै होइन, छ्याङ्गै मात्रै हो । सायद प्रहरीका कुनै अधिकारीलाई दबंग बन्ने हुटहुटीले यस्तो भएको पनि हुन सक्छ ।
पक्राउ परेका व्यक्तिहरुले दिएको बयान सनसनीखेद हिन्दी कथानक चलचित्रको पटकथाभन्दा रोचक छ । थप रोचक र प्रहरीको अदितीय सफलता देखाउने प्रयासले बयान, बयान जस्तो देखिएन । प्रहरीले जिल्ला सरकारी वकिलको उपस्थितिमा लिएको भनिएको बयान हिन्दी टेलिसिरियल सिआइडीको पटकथाभन्दा विश्वसनीय देखिनै पर्छ ।
प्रहरीले लिएको बयान बकम्फुसे किन देखिन्छ भन्ने सवालमा केही उदाहरण हेरौं ।
जस्तो कि सानु भण्डारीको बयानमा लेखिएको छ– ‘...मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यूको हो, उक्त रकम गाडीमा राखी दिनु भनी मलाई भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम रु १,००,००,०००।– (एक करोड) गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र अब तपाईहरुको काम हुन्छ, तपाई जानु भनी प्रेमकुमार राईले मलाई भनेकोले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ ।’
प्रहरीले सानु भण्डारीको यो बयानको सत्यता पुष्टी गर्ने जाँगर गरेको देखिएन । व्यवहारिक रुपमा गृह मन्त्रालयमा सचिवको गाडीमा एक करोड रुपैयाँ राख्न कति सम्भव छ भनेर प्रहरीले सानु अनुसन्धान गरेको देखिदैन ।
सिंहदरबारभित्र पसेपछि पनि गृहमन्त्रालय पस्न फेरि अर्काे प्रक्रिया पूरा गर्नुपर्छ । कसलाई भेट्ने हो, समय दिएको छ कि छैन भन्नेदेखि भित्र प्रवेश गर्ने व्यक्तिको नाम पनि गृहको गेटमा टिपिन्छ । सानु भण्डारी यी सबै प्रक्रिया पूरा गरेर गृहमन्त्रालयमा गएका हुन् ? वा मन्त्रीका छोरा, मन्त्रीको सल्लाहकार, सचिवसँगको मिलोमतोमा भएकोले सोझैभित्र गएका रहेछन् भने पनि सचिवको गाडीमा कसरी रकम राखिदिए ?
गृहसचिवको गाडी राख्ने ठाउँ बेग्लै हुन्छ । त्यहाँ सिसिटिभी हुन्छ । र, गृहसचिवको गाडी कुर्न एक जना प्रहरी पनि बसेको हुन्छ । कसले खोलिदियो गृहसचिवको गाडीको डिकी ? गृहसचिव प्रेमकुमार राईको गाडीको चाबी सानु भण्डारीसँगै थियो ? डां इन्द्रजित राईले लिएका थिए ? कि प्रेम राईका ड्राइभरको पनि मिलेमतो थियो ?
गृहसचिवको गाडी खोलेर सानु भण्डारीले लाख–लाखका विटा गाडीभित्र फालिदिएका होइनन् होला । कुनै ब्रिफकेस वा झोलामा हालेर राखिएको होला । गृहसचिवको गाडीमा शंकास्पद बस्तु (नगद भएपनि थाहा नपाएकोले) उनको गाडी हेरेर बसेको प्रहरीले केही गरेन ? प्रहरीले सानु भण्डारीको बयानमा यस्ता प्रश्नको थप अनुसन्धान गर्नुपथ्र्याे ।
भण्डारीले २०७६ साल साउन २५ गते मन्त्री क्वाटर पुल्चोकमा गएर तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’की श्रीमती नैनकला थापालाई १ करोड रुपैयाँ नगदै दिएको बयान दिएका छन् । प्रहरीले यो बयान पनि शंका गरेन । सानु भण्डारी जहाँ जादा पनि करोड बोकेर हिडिरहने व्यक्ति हुन् ? उनले सिंहदरबारभित्र लगेर सचिवको गाडीमा नगदै १ करोड हाल्न पनि सके, मन्त्री क्वाटरभित्र छिरेर गृहमन्त्रीकी श्रीमतीलाई नगदै १ करोड दिन पनि सके ?
त्यो बेला सिंहदरबारको गेट, गृहमन्त्रालयको गेट र मन्त्री क्वाटरको सुरक्षा कसको जिम्मेवारीमा थियो ? को–को थिए ड्युटीमा ? यसमा प्रहरीको मात्रै कमजोरी भयो कि सशस्त्र र सेना पनि जोडिन्छ ? नेपालको कानुनले १० लाख रुपैयाँभन्दा बढी नगद बोकेर हिड्न पाइदैन । तस्करहरु गाडीमा करोडका विटा बोकेर सिंहदरबार र मन्त्री क्वाटर चाहार्दा थाहै नपाउने सुरक्षा संयन्त्रले यति सम्वेदनशील निकायको सुरक्षा कसरी गर्छ ? सानु भण्डारीको बयानमा यी पाटोको खोजी गर्न प्रहरीले आवश्यक ठानेन ।
अब अर्काे उदाहरण हेरौं । केशवप्रसाद दुलालले आफ्नो बयानमा इन्द्रजित राईले सानु भण्डारीसँग त्रिपुरेश्वरको आँगन होटलमा १ करोड ५० लाख रुपैयाँ नगदै लिएको भनेका छन् । जबकि सानु भण्डारीले आफ्नो बयानमा सो कुरा भनेका छैनन् । र, केशवले नै इन्द्रजित राईलाई सानु भण्डारीले काठमाडौँको हिमालयन होटलमा २ करोड रुपैयाँ दिएको भनेका छन् । आँगन होटल भनेको आँगन मिठाइ पसल हो ? हो भने, त्यस्तो भिडभाड हुने होटलमा साढे १ करोड रुपैयाँ लगेर दिइयो ? लिनेले पनि लिए ? अनि हिमालयन होटल भनेको कुपण्डोलको होटल हिमालयन हो ? हो भने त्यहाँ पनि २ करोड रुपैयाँ दिनेले दिए, लिनेले लिए ? पैसा बोकेर जानेले जान सके, लिएर जानेले लान सके ? डा. इन्द्रजित राई जस्तो सर्वसाधारणले पनि चिन्ने व्यक्तिले यस्ता होटलमा गएर साढे १ करोड र २ करोड नगदै बोकेर हिडे ? व्यवहारिक रुपमा सम्भव छ ?
प्रहरीले यस्तो पाटोको पनि अनुसन्धान गरेन । आरोपीको बयान रोमान्चक भएकोमा प्रहरी दंग परेर बयान टाइप गरिरह्यो ।
किन आए यस्ता बयान ?
नक्कली भुटानी शरणार्थी प्रकरण नितान्त ठगीको उदेश्यले उठान भएको अव स्पष्ट भएको छ । पैसा लिनेलाई यी मान्छे अमेरिका जानै सक्दैनन् भन्ने शतप्रतिशत यकिन रहेछ । कक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउन सकिदैन भन्ने थाहा हुँदा हुँदै पनि ठग्ने उदेश्यले रकम लिइएको रहेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा केही नेपाली ठगिएकै हुन् । ठग्नेहरु भनेर अहिले प्रहरीले कारबाही प्रक्रिया अघि बढाएकाहरु दोषी या निर्दाेष के हुन भनेर अदालतले भन्ला नै ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडितलाई पैसा फिर्ता नदिने खेल भने प्रहरी बयानबाटै सुरु भएको छ । किनभने अभियुक्तहरुले प्रहरीसँगको बयानमा भनेका छन्– प्रेम राईको गाडीमा १ करोड राखिदिएका छौं । नैनकलालाई मन्त्री क्वाटरमै गएर १ करोड दिएका छौं । अडियो बाहिरिएको थियो– मञ्जु खाँणले ६ करोड लिइन्, डा. आरजुलाई २ करोड दिइएको छ । राजेश बज्राचार्य र अन्यको नाम पनि जोडिएकै छ ।
अब पैसा खानेहरु दोषी करार भएपनि उनीहरु उल्टै भन्नेछन्– ‘हामीले पैसा दिएका मान्छेलाई सेटिङ गरेर जोगाइयो, प्रहरी, प्रशासन, अदालत सबै लागे, हामी उल्टै ठगिएका छौं कहाँबाट दिनु पैसा ? तपाईंहरुको पैसा फिर्ता माग्न बालकोट जानुपर्छ, बुढानिलकण्ठ जानु पर्छ । मञ्जु र नैनकलासँग उठाउने उपाय सोच्नुहोस् । लु हिड्नुस्, पैसा माग्न जाम !’
प्रहरी हिरासतमा रहेका व्यक्तिहरुको बयान लिने प्रहरीलाई उसले सही बोलिरहेको छ कि छैन भन्ने जानकारी हुन्छ । झुट बयान दिएको छ वा बनावटी कुरा गरेको छ भने उसले दिएको बयानको सत्यता पुष्टी गर्न थप अनुसन्धान जरुरी थियो । तर, प्रहरीले शरणार्थी पीडितलाई असहयोग पुग्ने बयानलाई स्वीकार गरेर बसेको छ ।