Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेरो महामन्त्री पद गए पनि पार्टी सुधार्न लाग्छुः गगन थापा

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सुधार्न लाग्दा आफ्नो महामन्त्री पद गएपनि सो कार्यबाट पछि नहट्ने बताएका छन् । उनले पार्टी सुधारका पक्षमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह पनि गरेका छन् ।

नेपाली कांग्रेस ललितपुरले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले पार्टीलाई बेगका साथ सुधार गर्नुपर्ने पनि बताए ।

‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन । हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर, पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ,’ महामन्त्री थापाले भने ।

उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने आँट गर्नुपर्ने बताए। यस्तो आँट नेतादेखि कार्यकर्तासम्मले गर्नुपर्ने उनको भनाइ छ ।

‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ । मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु। म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्। सदस्य मात्रै भएर बस्न परे बसुँ,’ महामन्त्री थापाले भने ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्