बजेट : यसपाली बृद्धभत्ता बढ्छ कि ६५ वर्षमै पाइन्छ ?
काठमाडौँ– सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ ।
आज अपरान्ह ४ बजे बस्ने संयुक्त सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।
अर्थमन्त्री डा. महतले १७ खर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दैछन् । सो बजेटले जेष्ठनागरिक भत्ता (बृद्ध भत्ता) बढाउने हो कि होइन भन्ने विषयमा पनि चर्चा छ ।
पछिल्ला वर्षहरुमा राजनीतिक दलहरुले बृद्धभत्तामा राजनीति गर्न गर्न थालेका छन् । भत्ता बढाउँछु भनेर भोट माग्ने गरेका दलहरुले यसपाली सरकार आर्थिक संकटमा परेकोले बजेटले बढाउँछ कि बढाउँदैन भनेर चासोका साथ हेरिएको छ ।
अहिले ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई मासिक ४ हजार रुपैयाँका दरले भत्ता दिने गरेको छ । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६८ वर्ष कायम गरेका थिए ।
तत्कालिन अर्थमन्त्री शर्माले बृद्धभत्ता पाउने उमेर घटाएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । देउवाले नै २०७४ सालममा नै बृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६५ मा झारेका थिए । यद्यपि, त्यसपछि सरकारको नेतृत्व गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो ६५ वर्षलाई कार्यान्वयन गरेका थिएनन् । र, त्यसपछि पनि ७० वर्षमा नै बृद्ध पाइने व्यवस्था कायम गरिएको थियो ।
देउवा प्रधानमन्त्री भएको समयमा बृद्धभत्ता पाउने उमेर घटाइएकोले गत आर्थिक वर्षको बजेटमार्फत ७० वर्षलाई ६८ वर्षमा झारिएको थियो । यसपाली पनि कांग्रेस र माओवादी गठबन्धनको सरकार भएकोले बृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट ६५ मा झार्ने हो कि भन्ने चर्चा पनि भएको छ ।
तर, अर्थमन्त्रालय स्रोत भने यसपाली सरकारलाई स्रोतको अभाव भएकोले बृद्धभत्ता बढ्ने वा उमेर घटाउने कार्य नहुने बताउँछ । सरकार मितव्ययी बन्नु पर्ने भएकोले खर्च बढाउन नसक्ने अवस्था भएको स्रोतको दाबी छ ।
‘यसपाली खर्च बढाउन सक्ने अवस्था देखिएको छैन । त्यसैले बृद्धभत्ता बढ्ने वा उमेर घटाउने सम्भावना देखिएको छैन । तर, अर्थमन्त्रीज्यूले राजनीतिक निर्णयका आधारमा कुनै निर्णय गर्नुभएको रहेछ भने त्यो थाहा हुने कुरा भएन,’ बजेट निर्माणमा संलग्न अर्थमन्त्रालय स्रोतले भन्यो ।