Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा ‘साहसिक पर्यटन’ सम्बन्धी तस्बिर प्रदर्शनी सुरु

मंगलबार, जेठ १६, २०८०

गण्डकी– पर्यटकीय सहर पोखरामा नेपालको साहसिक पर्यटनसम्बन्धी तस्बिर प्रदर्शनी आजदेखि सुरु भएको छ । 

यहाँ आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट–२०२३ को अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले तस्बिर प्रदर्शनी आयोजना गरेको हो ।

होटल पोखरा ग्राण्डमा आयोजित उक्त प्रदर्शनीको माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले शुभारम्भ गरे । प्रदर्शनीको उद्घाटनपछि माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले तस्बिर हेरेपछि पूरै नेपाल घुमेको अनभूति भएको बताए । नेपाली फोटो पत्रकारले खिचेका उत्कृष्ट तस्बिर हेर्न पाउँदा खुसी लागेको उनले उल्लेख गरे ।

उनीसँगै सम्मेलनमा भाग लिन आएका विशिष्ट विदेशी पाहुनाले प्रदर्शनीको अवलोकन गरेका थिए । तस्बिर प्रदर्शनी चारदिनसम्म चल्ने ‘एनएफपिजे’का केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए । प्रदर्शनीमा ३० नेपाली फोटो पत्रकारले खिचेका साहसिक पर्यटनसँग सम्बन्धित ६० भन्दा बढी तस्बिर राखिएको छ । पाटा शिखर सम्मेलन र एडभेञ्चर ट्राभल मार्टमा आउने देश विदेशका पाहुनालाई नेपाल चिनाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको ‘एनएफपिजे’ले जनाएको छ । 

‘पाटा’ एसिया–प्रशान्त क्षेत्रका पर्यटन तथा ट्राभल सङ्घसंस्थाको छाता संस्था हो । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा पाटाको आयोजनामा नेपालमा पहिलोपटक उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विभिन्न २२ देशका एक सय ६० जना क्रेता र बिक्रेतासहित झण्डै दुई सय ५० जनाको सहभागिता रहने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताए ।

माल्दिभ्सका पर्यटन मन्त्रीसहित सात देशका पर्यटन हेर्ने निकायका उच्च पदाधिकारीले पनि शिखर सम्मेलनमा भाग लिने जनाइएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक सम्मेलन आयोजना गर्ने अवसर पाएको हो । एडभेञ्चर ट्राभल मार्ट भने यसअघि पनि नेपालमा हुँदै आएको थियो । सो  कार्यक्रमले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन र कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न टेवा पुग्ने विश्वास लिइएको छ । 

पर्यटनमा ख्याति कमाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञ तथा वक्ताको दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक तथा पर्वतीय पर्यटनलगायतका विषयमा प्रस्तुतीकरण तथा छलफल हुनेछ । वार्षिक सम्मेलनसहित, पाटाको बोर्ड बैठक पनि सञ्चालन हुने पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताए ।  

“पोखरालाई केन्द्र बनाएर नेपालमै पहिलोपटक पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुँदैछ”, उनले भने, “यसबाट नेपाल घुम्नै पर्ने गन्तव्यका रुपमा विश्वभर प्रसारित हुन्छ, पोखरा सुरक्षित छ भन्ने सन्देश बाहिर जान्छ ।” 

कोभिड–१९ पछिको पर्यटन र पर्यटन व्यवसायको प्रवर्द्धनका विभिन्न आयामबारे समूहगत छलफल तथा ‘बीटुबी’ कार्यक्रम पनि सञ्चालन हुनेछ । पाटा शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्टको आज साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्नेछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्