Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारत प्रस्थान गरेका छन् । उनी नेतृत्वको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड चारदिने औपचारिक भ्रमणका लागि नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ लागेका हुन् ।

भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । भ्रमणको दोस्रो दिन प्रचण्डले भारतीय समकक्षीसँग जेठ १८ गते भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्