Nic Ad Nic Ad
Nic Ad Nic Ad
बागमती प्रदेशसभा बैठक

बागमती प्रदेशसभा : सांसद पौडेलको सङ्कल्प प्रस्ताव सर्वसम्मत स्वीकृत

बुधबार, जेठ १७, २०८०

हेटौँडा– बागमती प्रदेशसभामा नेकपा (एमाले) का प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गरेको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । 

आजको प्रदेशसभा बैठकमा उनले पेस गरेको सो सङ्कल्प प्रस्ताव स्वीकृत भएको हो ।

बैठकमा पौडेलले भारतले नेपालको लुम्बिनी र कपिलवस्तुलगायत नेपालका भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकामा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिकरुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पेस गरेका थिए । उनले नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेको अवगत गराउँदै उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताए ।

उक्त सङ्कल्प प्रस्तावलाई दलगतरुपमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।

सङ्कल्प प्रस्ताव पेस हुनुअघि प्रदेशसभा नियमावलीको नियम निलम्वन गरिएको थियो । 

सत्तारुढ दल माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागू हुने गरी सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम निलम्बन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्