Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, अन्य के–के छन् कार्यक्रम ?

बिहीबार, जेठ १८, २०८०

नयाँ दिल्ली– भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर उनीति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने छ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।

ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतको चारदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री प्रचण्ड बुधबार पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी भए ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा आएका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।  

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्