सुनकोसीमा बेपत्ता कर्मचारी खोज्न थप गोताखोर सिन्धुली प्रस्थान
काठमाडौँ– सुनकोसी नदीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको खोजी गर्न थप गोताखोर सिन्धुली प्रस्थान गरेका छन् ।
आज सशस्त्र प्रहरी बलले कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट थप गोताखोर सिन्धुली प्रस्थान गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमान्डमा चारजना गोताखोरसहित सात जनाको टोली सिन्धुली प्रस्थान गरेको हो ।
यसअघि काठमाडौँको सिनामंगलस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ७ जनाको गोताखोर टोली खटिएको थियो ।
शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो जिप खस्दा तीनजना कर्मचारी बेपत्ता छन् ।
गाडीमा सवार चार जनामध्ये चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।