Nic Ad Nic Ad
Nic Ad Nic Ad

माइतीघरमा सहकारी पीडितहरुको प्रदर्शन

शनिबार, जेठ २०, २०८०

काठमाडौँ– सहकारी पीडित नागरिकहरुले आफ्नो बचत रकम फिर्ताको माग राखेर आज माइतीघरमा प्रदर्शन गरेका छन् । 

सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिको आह्वानमा पीडितहरुले आफ्नो बचत फिर्ताको माग राख्दै उक्त प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफ्नो रकम फिर्ताका लागि सरकारले पहल गर्न या सरकारले नै फिर्ता दिनुपर्ने व्यवस्था गर्न माग गरेका हुन् । यसैका दबाबस्वरुप प्रदर्शनमा उत्रिन बाध्य भएको उनीहरुको भनाइ थियो ।  

पीडितहरुले आज मध्याह्न माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए । सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि पालिकादेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत आफूहरुले गरेको बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शन गरेको सङ्घर्ष समितिका अध्यक्ष सुनितासिंह राजभण्डारीले बताइन् ।

उनले भनिन्, “सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकाय धायौँ तर कतै पनि सुनुवाइ नहुँदा पीडितहरु सडक आन्दोलनमा आउन बाध्य भए ।” सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने पीडितहरुको माग रहेको छ । काठमाडौँ महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको पीडतहरुको गुनासो रहेको छ ।

sahakari_pidit1685797454.JPG

नेपालमा पछिल्लो समय सहकारीबाट ठगिने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक तथ्याङ्कअनुसार एक सयभन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरु एकै ठाउँमा रहेर यो सङ्घर्ष समिति बनाएको अध्यक्ष राजभण्डारीले जानकारी दिइन् ।

बाटोमा दिनभर मकै पोल्ने, भारी बोक्ने तथा सानातिना ज्याला मजदुरी गरेर जम्मा गरेको दुई चार पैसा जम्मा गरिएका सहकारी नै भागेका या बन्द भएका छन् । यस्तो वर्गका नागरिकको रकम फिर्ता हुन नसकेपछि उनीहरु निकै मर्कामा परेका छन् ।

आफूहरुले जम्मा गरेको यस्तो सानो तिनो रकम कुनै अवैध कमाइ या कालोधन नभएकाले सरकारले नै पीडितहरुका समस्याको सम्बोधन गर्नुपर्ने पीडितहरुको माग रहेको छ ।

आज माइतीघरमा जम्मा भएका सयौँ पीडितले आफ्नो रोजीरोटीको त कुरै जाओस्, दुःख जिलो गरी जम्मा गरेको सानो रकम पनि झिक्न नपाउने भएपछि परिवार पाल्ने समस्या झनै बढेको बताएका थिए । उनीहरुले सहकारीलाई कारबाही गरेर होस् या सहकारीको अचल अचल सम्पत्ति लिएर होस् सरकारले नै आफूहरुका समस्याको समाधानका लागि रकम फिर्ता गराइदिनुपर्ने बताएका थिए । 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्