Nic Ad Nic Ad
Nic Ad Nic Ad

जुम्ली मामाभाञ्जीलाई अन्नपूर्ण म्याराथनको उपाधि

शनिबार, जेठ २०, २०८०

गण्डकी– जुम्लाका धीराबहादुर बुढा र गणना भण्डारी नाताले मामाभाञ्जी हुन् । म्याराथनमा भविष्य बनाउन सङ्घर्षरत उनीहरूका लागि आजको दिन सुखद् रह्यो । अन्नपूर्ण आधार शिविरबाट पर्यटकीय गाउँ घान्द्रुकसम्मको ‘अन्नपूर्ण म्याराथन’मा पुरुषतर्फको बुढाले र महिलातर्फको उपाधि भण्डारीले हात पारिन् । 

अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित तेस्रो संस्करणको उक्त म्याराथन प्रतियोगिताबाट बुढा र भण्डारीले सफलताको अर्को सिँढी चढे । यसअघि अल्ट्रा म्याराथनमा भाग लिँदै आएका बुढाका लागि फुल म्याराथनको यो पहिलो अनुभव हो । नेपाली सेनाका अनुभवी धावकलाई पछाडि पार्दै उनी उपाधि जित्न सफल भएका हुन् । 

निर्धारित ४२ दशमलव १९५ किमि दूरी बुढाले चार घण्टा १० मिनेट ५१ सेकेण्डमा पार गरेका थिए ।  “देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने लक्ष्य छ, अब त्यसकै अभ्यासमा लाग्छु”, बुढाले भने, “खेलमा लागेर विदेश भौँतारिने अवस्था नआओस्, सरकारले पनि खेलाडीलाई हेरोस् भन्न चाहन्छु ।” 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ की भण्डारीले मामा धीराबहादुरको साथ र हौसलाले आफू म्याराथनमा आएको बताइन् । “मामाले जानुपर्छ, प्रतियोगितमा भाग लिनुपर्छ भनेपछि म यहाँ आएकी हुँ, आज धेरै खुसी छु”, उनले भनिन्, “ज्यानकै बाजी मारेर कुद्नुपर्छ, तर सफलता हात लाग्दा त्यो सबै भुलिँदोरहेछ ।”

भण्डारीले पाँच घण्टा ४३ मिनेट दुई सेकेण्डमा दूरी पार गरेकी थिइन् । ओरालो भूभाग भएकाले पहिलेको भन्दा यसपालिको म्याराथनमा केही गाह्रो भएको भण्डारीले सुनाइन् । चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शनिबार बिहान ७ बजे म्याराथन सुरु भएको थियो । माछापुच्छ्रे आधार शिविर, बगर, देउलारी हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आएर म्याराथन सकिएको थियो ।  

भण्डारीले यसअघि जुम्ला र मुगुको रारातालमा भएको म्याराथनमा दोस्रो स्थान हासिल गरेकी थिइन् । १२ कक्षा उत्र्तीण उनले म्याराथनलाई निरन्तरता दिने उल्लेख गरिन् । उपाधि विजेता बुढाले नगद एक लाख ५० हजार र भण्डारीले ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठले चार घण्टा १२ मिनेट १९ सेकण्डमा उक्त दूरी पार गर्दै उपविजेता बने । 

तेस्रो स्थान बनाउन सफल नेपाली सेनाकै वेदबहादुर सुनवारले चार घण्टा १६ मिनेट ४८ सेकेण्डमा दूरी पार गरेका थिए । उपविजेता बन्न सफल श्रेष्ठले एक लाख र तेस्रो स्थान हासिल गर्ने सुनुवारले ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महिलातर्फ धादिङकी रशिला तामाङले छ घण्टा पाँच मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गर्दै उपविजेता बनिन् । छ घण्टा ११ मिनेट १६ सेकेण्डमा दूरी पार गर्दै ओखलढुङ्गाकी चोकी शेर्पाले तेस्रो स्थान हासिल गरिन् । उपविजेता तामाङले नगद ५० हजार र तेस्रो स्थान बनाउन सफल शेर्पाले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले पुरस्कार प्रदान गरेका थिए ।

 

म्याराथन प्रतियोगितामा पुरुषतर्फ ४२ र महिलातर्फ नौ धावकले सहभागिता जनाएका थिए । अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवसँगै म्याराथन प्रतियोगिताको आयोजना गरिएको अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए । 

गत बुधबारदेखि सुरु भएको पर्यटन महोत्सवमा भलिबल, बास्केटबललगायतका प्रतियोगिता पनि आयोजना गरिएको थियो । पछिल्ला दुई वर्ष कोभिड–१९ महामारीका कारण रोकिएको पर्यटन महोत्सव र म्याराथनलाई यो वर्षदेखि पुनः निरन्तरता दिइएको हो । 

सन् १९५० जुन ३ तारिखमा पहिलोपटक फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेको सम्झनामा बर्सेनि जुन ३ तारिखमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ । 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्