अर्थमन्त्रालयले भन्यो– सेयर बेच्दाको ५ वा ७.५ प्रतिशत कर अन्तिम हो
काठमाडौँ– सेयर कारोबारमा लिने गरिएको ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर भएको अर्थमन्त्रालयले स्पष्ट पारेको छ ।
सेयर कारोबारमा देखिएको कर अन्योल हटाउन सरकारले स्पष्टीकरण दिएको हो । मन्त्रालयको राजस्व महाशाखाले यस्तो पत्र दिएको हो ।
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक ऐनको दफा २९ मा सेयर कारोबार गर्ने व्यक्तिहरुले पनि कर विवरण बुझाउनु पर्ने भन्ने व्यवस्था थियो । यस्तो व्यवस्थाले सेयरमा लाग्ने ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर हो कि होइन भन्ने अन्योल सिर्जना भएको थियो ।
‘आर्थिक विधेयक २०८० को दफा २९ का सन्दर्भमा प्राकृर्तिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम गरेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ,’ महाशाखाले जारी गरेको सूचनमा उल्लेख छ ।