नेपालले जित्यो मलेसियाविरुद्धको टी-ट्वान्टी सिरिज
काठमाडाैं - घरेलु टोली मलेसियाविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ ।आइतबार भएको सिरिजको पाँचौं खेल ३ विकेटले जित्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो ।
निर्णायक खेलमा मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सीता राना मगरले ३७ बलमा ६ चाैकासहित सर्वाधिक ३४ रन बनाइन् ।
यस्तै, कप्तान रुबिना क्षेत्री बेल्बासेले २३ रनको योगदान दिइन् । अप्सरी बेगम १५ र ज्योति पाण्डे १३ रनमा अविजित रहे । मलेसियाका लागि ऐना हामिजाह हाशिमले सर्वाधिक २ विकेट लिए ।
त्यसअघि बांगीस्थित ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो ।
उसका लागि वान जुलिया मोहम्मद रोस्दीले ४७, विनीफ्रेड आनी दुराईसिंघमले २४ र महिराह इजाती इस्मालीले २० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
नेपालका लागि कविता कुँवरले ४ ओभरमा १२ रन खर्चेर सर्वाधिक २ विकेट लिइन् । यस्तै, ईश्वरी विष्टले २ ओभरमा १५ रन दिएर १ विकेट हात पारिन् । नेपाललाई २ विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।
सिरिजको पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हरायो । तेस्रो खेलमा २७ रनले विजयी हुँदै सिरिजमा अग्रता लिएको नेपालले चौथो खेलमा ४ विकेटको हार बेहोरेको थियो ।