Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

सोमबार, जेठ २२, २०८०

गण्डकी– गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

यीमध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्ग प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । वर्षौंदेखि चर्चामा रहेको उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप चार स्थानमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा रु ५० लाख बजेट छुट्टाएको थियो । आव सकिनै लाग्दा पनि उक्त सुरुङ मार्ग आयोजनाको प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन । 

काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङ माग बनेमा लोकमार्गमा घण्टौँ लाग्ने यात्रा केही मिनेटमा छोट्टिनेछ । पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक÷सामाजिक विकासमा उक्त सुरुङ मार्गले महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । 

बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताए । ‘रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ,’ उनले भने, यसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।

केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन गरे पनि सम्भाव्यता अध्ययनको काम अघि नबढेको स्थानीयवासीको भनाइ छ । सङ्घ सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङ मार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुन सकेको छैन । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्