प्रतिनिधिसभामा भैँसीले मच्चायो हंगामा, सभामुखले हटाए ‘प्रधानमन्त्री चढेको भैँसी’
काठमाडौँ– आज प्रतिनिधिसभामा भैँसीले हंगामा मच्चाएको छ । प्रधानमन्त्रीदेखि सभामुख र सांसदहरूलाई भैँसीले हैरान पारेको छ ।
भारतले नेपाललाई दिने भनिएको मुर्रा जातको भैँसीले संसदमा हंगामा मच्चाएको हो । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बारेमा जानकारी दिँदा भारतले नेपाललाई दिने मुर्रा जातको भैँसीबारे बताएपछि विपक्षी दलका सांसदहरूले सो विषय प्रधानमन्त्री प्रचण्डतर्फ नै लक्षित गरेका थिए ।
‘...रह्यो भैँसीको कुरा । यो अहिलेको विषय होइन । ७ वर्ष अघि नै मुर्रा भैँसी ल्याउने समझदारी भएको रहेछ । आएको मात्रै अहिले । ७ वर्ष अगाडिको रहेछ मुर्रा भैँसी । अब मान्छेले चै मलाई भैँसी चढाएर हिँडाएका छन् । राँगा, राँगा नै हो । मुर्रा हो मुर्रा..,’ प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा जानकारी दिदै प्रतिनिधि सभामा भनेका थिए । उनले भारतबाट भैँसी नभएर राँगा आउन लागेका जानकारी दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले यस्तो बताउँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल अर्का उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग मुखामुख गर्दै खित्का छोडेर हाँस्दै गरेको दृष्य टेलिभिजन लाइभमै देखिएको थियो ।
प्रधानमन्त्री प्रचण्डको भनाइ सकिएपछि सभामुख देवराज घिमिरेले सांसदहरुलाई प्रधानमन्त्री प्रचण्डसँग प्रश्न सोध्न समय दिए । यसरी प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड भैँसी चढेर भारतबाट नेपाल आएको बताए ।
‘...प्रधानमन्त्री जहाज चढेर आफैले उद्घाटन गरेको पोखरा विमानस्थलमा आउनु पर्ने थियो । तर, उहाँ त भैसी चढेर आउनुभयो...,’ पूर्वशिक्षा मन्त्रीसमेत रहेका सांसद खनालले भने ।
सांसद खनालले यस्तो बताउँदै गर्दा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । प्रधानमन्त्रीलाई भैँसी चढेर आएको भनेर सांसद खनालले भनेको कुरा संसदीय मर्यादा विपरीतको भएको सांसद पाण्डेको भनाइ थियो ।
सांसद पाण्डले यसरी नियमापत्ती जनाउँदै गर्दा रास्वपा र एमालेको सांसदहरूले संसदमा हंगामा गरे । विपक्षी दलका सांसदहरूको प्रश्न थियो– शिशिर खनालले बोल्दै गर्दा हितराज पाण्डेले नियमापत्ति गरेर दादागिरी देखाए र भैँसी चढेर भन्ने वाक्यांश प्रधानमन्त्री आफैँले प्रयोग गरेको शब्द हो, हटाउने भए प्रधानमन्त्रीले प्रयोग गरेको शब्द पनि हटाउनु पर्छ ।
त्यसपछि रास्वपाका सभापति रवि लामिछाने, एमाले सांसदहरू सूर्य थापा, रघुजी पन्तलगायतले संसदमा होहल्ला गरिरहे । एमाले उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङलगायत भने हाँसेर रमाइलो गरिरहेका देखिन्थे ।
सभा चलाउन सभामुख देवराज घिमिरेले सांसदहरूसँग आग्रह गरिरहेका थिए । तर, सहज अवस्था सिर्जना भइरहेको थिएन । सांसदहरू आफ्नो ठाउँबाट उठेर होहल्ला गरिरहेका थिए । उठेर हल्ला गर्नेमा विपक्षी र सत्तापक्षका सांसदहरू नै थिए ।
विषय तनावग्रस्त हुन थालेपछि सभामुख घिमिरेले ‘भैँसी चढेर आएको’ शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिए । तर, विपक्षी दलका सांसदहरू सो शब्द हटाउने भए प्रधानमन्त्रीले प्रयोग गरेको शब्द पनि हटाउनु पर्ने माग गरिरहेका थिए ।
‘...माननीय सदस्यहरू ‘भैँसी चढेर आएको’ भन्ने शब्द जसले प्रयोग गर्नुभएको भए पनि यो रेकर्डबाट हटाउन निर्देशन दिन्छु...,’ सभामुख घिमिरेले भनेका थिए ।
सभामुख घिमिरेले यस्तो बताए पनि विपक्षी दलका सांसदहरूले विरोध गरिरहेका थिए । उनीको माग प्रधानमन्त्री भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउने भए प्रधानमन्त्रीले प्रयोग गरेको शब्द पनि हटाउनु पर्ने भन्ने थियो ।
तर, सभामुख घिमिरेले प्रधानमन्त्रीले सो शब्द मलाई अरुले यसो भनेका छन् भनेर प्रयोग गर्नु भएको तर सांसदहरूले भैँसी चढेर प्रधानमन्त्री आउनु भएको भनेर भनेकोले यो प्रशंग नै फरक भएको बताए । अनि संसद् सुचारु भयो । सभामुख घिमिरेले संसद्को रेकर्डबाट ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ हटाउन लगाए ।