Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति

बुधबार, जेठ २४, २०८०

नयाँ दिल्ली– अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो । 

भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफमा नयाँदिल्लीस्थित  चिनियाँ दूतावासका प्रवक्ता वाङ सिया ओजियानले  जबरजस्ती र आधिपत्यका लागि सबै प्रकारका उपाय अमेरिकाले अपनाउने गरेको बताएका छन् । उनले विश्वशान्ति र समृद्धिका लागि चीनको योगदान रहेको बताउँदै अमेरिकाको जबरजस्ती र दादागिरीका कारण विकासोन्मुख देशमात्र नभइ उसका सहयोगी र साझेदारहरूसमेत मारमा परेका दाबी गरेका छन् । 

‘वर्तमान चीन–भारत सीमा स्थिति समग्रमा स्थिर छ, सीमा मामिला चीन र भारत बीचको विषय हो,  कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य छैन,’  प्रवक्ता वाङले भनेका छन् ।

सोमबार रक्षामन्त्री राजनाथ सिंहसँगको द्विपक्षीय बैठकपछि पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री अस्टिनले द्रुत रूपमा परिवर्तन भइरहेको विश्व र अन्तरराष्ट्रिय चुनौतीको चर्चा गर्दा चीनमाथि त्यस्तो टिप्पणी गरेका थिए । उनले युक्रेन युद्धमा चीनको भूमिकाका साथै आतङ्कवाद र जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय चासोका विषयमा चीनको भूमिकालाई लिएर आलोचना गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्