Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

बिहीबार, जेठ २५, २०८०

बुटवल– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म चल्दै आएको मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार बुटवलमा लुम्बिनी केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्मका योजनावद्ध विकासका प्रयासबाट उत्पादन र रोजगारीको क्षेत्रको प्रगति उत्साहजनक नभएको भन्दै विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले उनीहरूलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा आफु रहेको बताए । उनले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । मुलुकको अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी निजी क्षेत्रका साथीहरूकै सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको उनले बताए । 

पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा न्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने उनको भनाई छ । उनले हालसालै भारतको औपचारिक भ्रमणका क्रममा पनि नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीहरूलाई आह्वान गरेको समेत बताए ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट रहेकाले लगानी एवं व्यवसायका क्षेत्रमा आउने जस्तोसुकै समस्या पनि हल गर्न तयार रहेको धारणा राखे । लुम्बिनी केबलकार कूल साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण भएको हो । आईएमई समूहको लगानीमा बनेको केबलकारको बटम स्टेशन बुटवल–३ बमघाट र टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा रहेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्