च्याम्पियन्स लिग : तीन पटकको विजेता इन्टरलाई हराउँदै पहिलो उपाधि जित्ने सिटीको लक्ष्य
काठमाडौँ– आज क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको युरोपियन च्याम्पियन्स लिगको फाइनल हुँदैछ ।
इंग्लिस क्लब म्याचेस्टर सिटीले उपाधिका लागि तीन पटकको विजेता इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ ।
टर्कीको इस्तानबुलमा मध्यराति १२ः४५ मा हुने फाइनलमा इन्टरलाई हराएर सिटी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।
इन्टर भने चौथो उपाधिको खोजीमा छ । सटीलाई आज राति हराउँदै इन्टर १३ वर्षपछि च्याम्पियन बन्ने योजनामा हुनेछ । इन्टरले सन् २०१० मा उपाधि जितेको थियो । त्यसअघि इन्टरले सन् १९६४ र ६५ मा उपाधि जितेको थियो ।
इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।
सिटी तीन उपाधिका साथ ट्रेबल जित्ने अभियानमा छ । तीनै उपाधि जित्न सफल भए सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलोपटक ट्रेबल जितेको थियो ।
साविक विजेता रियल म्याड्रिडसँग बदला लिँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको थियो ।
इन्टरले भने अर्को इटालियन क्लब एसी मिलानलाई हराएको थियो ।