फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई
काठमाडौँ– मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई विदाई गरिएको छ ।
आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)का एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगाएत पदाधिकारीहरुले राष्ट्रिय पुरुष फुटबल टोलीलाई विदाइ गरेका हुन् ।
साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टोली फिलिपिन्स जान लागेका हुन् । नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । विदाई कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङले साफ च्याम्पियनसिपमा सवै टोली कडा प्रतिष्पर्धी रहेपनि नेपाली टोलीको तयारी राम्रो भएको बताए । उनले चूनौति भएपनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास रहेको बताए ।
राज्यले खेलाडीहरुलाई उचित व्यवस्था गर्न नसक्दा राम्रा खेलाडीहरु विदेशीन बाध्य भएको उनको भनाई छ ।
त्यस्तै, मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले प्रशिक्षका क्रममा खेलाडीहरुले राम्रो गरेकाले नतिजा पनि राम्रै आउने बताए ।
भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ । बेंगलुरुमा हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । साफमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।