Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी :

भारतमा गेरु लाउँदा र नेपालमा पशुपति धाउँदा पनि प्रचण्डसँग किन नाखुस छ राप्रपा ?

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा बोकेको पार्टी हो । पार्टीमा राजेन्द्र लिङ्देन नयाँ अध्यक्षको रुपमा उदाएपछि यी मुद्दाले जनै पुनर्जीवन पाएको बताइन्छ । 

अर्कोतिर नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूलाई गणतन्त्र र धर्मनिरपेक्षताको हिमायती ठान्छन् । आफैँले नेत्तृत्व गरेको १० वर्षे जनयुद्धको बलले देशमा गणतन्त्र, धर्मनिरपेक्षतासहित सबैखाले परिवर्तन आएको उनको दाबी छ । 

तर, उनै प्रचण्डको अहिले एकाएक धार्मिक रुप देखिएको छ । उनी स्वदेश तथा विदेशमा धार्मिक अनुष्ठान लगायतका गतिविधिमा देखिन थालेका छन् । गत जेठ १७ देखि २० सम्म भएको चार दिने भारत भ्रमणमा त उनी त्यहाँको एक मन्दिरमा गेरु वस्त्र लगाएर पूजा गरिहेका देखिए ।

प्रचण्डले श्रीमती सीता दाहालको स्वास्थ्यलाभको कामना गर्दै उज्जैनस्थित महाकालेश्वर मन्दिरमा विशेष पूजा गरेका थिए । श्रीमती सीता लामो समयदेखि अस्वस्थ छिन् ।

महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०८ किलोग्राम रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाए ।

यसले एक किसिमको तरंग छायो । त्यो तरंग सेलाउन नपाउँदै प्रचण्ड नेपालका आराध्यदेव तथा विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा गए । जबकि, यसअघि प्रचण्ड कहिल्यै पनि पशुपतिनाथको मन्दिरमा गएको विषय सार्वजनिक भएको थिएन ।

प्रचण्डले गेरु वस्त्र लगाउँदा र पशुपतिनाथ मन्दिरमा जाँदा हिन्दूराष्ट्रकै मुद्दा उठाइरहेको राप्रपा सबैभन्दा धेरै खुसी हुनुपर्ने हो । तर, त्यो भइरहेको छैन । राप्रपा अध्यक्ष लिङ्देनले त प्रचण्ड पशुपतिनाथमा आस्थाका लागि नभएर खाली देखाउनका लागि मात्र गएको टिप्पणी गरे । 

प्रचण्ड पशुपतिनाथ गएको विषयलाई लिएर राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले त झनै ‘उन्मुत्त हात्ती’ नामको कविता नै सामाजिक सञ्जालमा राखे । 

ती दिनमा

म उन्मत्त हात्ती थिएँ

शिकारी सुरको शेर थिएँ

लाग्थ्यो, पहाडबाट चट्टान झर्दै झर्दैन

जीवनमा अनिष्ट पर्दै पर्दैन ।

प्रचण्ड पशुपतिनाथ गएको तस्बिरसहित कतिता शेयर गर्दै उनले लेखे, ‘यो कविता कसैको जीवनसँग मिल्न गए त्यो संयोगमात्र हुनेछ ।’

राप्रपा नेताहरुको प्रचण्डमाथिको आक्रमण बढ्दो क्रममा छ । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले त संसदमा नै प्रधानमन्त्री प्रचण्डको राजीना मागे ।

आइतबारको प्रतिनिधिसभा बैठकमा शाहीले प्रचण्डका विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका हुन् । 

किन यस्तो भइरहेको छ ?

राप्रपाले सार्वजनिक र आधिकारिक दस्तावेजमा राजसंस्था फर्काउने भन्छ । सो पार्टी पूर्वराजा ज्ञानेन्द्र शाहनिकट मानिन्छ । प्रचण्डको भारत भ्रमणअघि पूर्वराजा ज्ञानेन्द्र पनि पटक–पटक भारत भ्रमणमा गएका थिए । हिन्दूराष्ट्र र राजसंस्था फर्काउन उनी भारत भ्रमणमा निस्किएको बताइन्छ । 

यद्यपि, भारतको संस्थापन पक्ष राजसंस्था नै फर्काउने पक्षमा नपुगिसकको बरु हिन्दूराष्ट्रको मुद्दा स्थापित गर्ने सबल पात्र खोजिरहेको विश्लेषण गरिएको छ । त्यसका लागि उसले नेपालमा विभिन्न पात्रहरूको परीक्षण गरेको चर्चा छ । पछिल्लो परीक्षणका पात्र भने प्रचण्ड भएको अनुमान गरिएको छ । यस्तो अनुमान गर्नेमा हिन्दूधर्म र राजसंस्थाको पक्षधर पार्टी राप्रपा पनि छ । 

यही अनुमानका आधारमा राप्रपाका नेताहरू ‘कतै हाम्रो एजेन्डा लगेर प्रचण्ड त हिरो बन्न लागेका होइनन्’ भन्ने शंसयमा भएको भान हुन्छ । यसर्थ, पछिल्लो समय राप्रपा प्रचण्डका हरेक गतिविधिको विरोध गरिरहेको छ । यसको उदाहरण, राप्रपाले प्रचण्डको भारत भ्रमणलाई संसद्मा धेरै कोणले असफल भएको साबित गर्न खोज्यो । प्रचण्डको पशुपतिनाथ दर्शनलाई ‘राजनीतिक स्वार्थको काम’ देखेको छ ।

अर्कोतिर प्रचण्डले भने धार्मिक गतिविधिलाई निरन्तरता दिन छोडेका छैनन् । उनले गत मंगलबार मात्र खप्तड गएर भारतीय गुरू रामदेवसँग भेट गरेका थिए । शनिबार मात्र उनी पशुपतिनाथको मन्दिरमा गएका छन् ।

सशस्त्र विद्रोहको समयमा हिन्दू धर्मविरोधी गतिविधि गराएको आरोप लागेका प्रचण्ड अहिले मन्दिर धाउनुमा राजनीतिक उद्देश्य नै प्रमुख कारण हुनसक्ने जानकारहरू बताउँछन् ।  ‘अब प्रचण्ड भक्तपुरको डोलेश्वर र भारतको केदारनाथ मन्दिर गए भने अनौठो नमान्दा हुन्छ,’ राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी भन्छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार