यसकारण २०० सिसीको मोटरसाइकलको अन्तशुल्क समायोजन गरियो : अर्थमन्त्री
काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले आम नागरिकले चढ्ने २०० सिसीको मोटरसाइकलको अन्तशुल्क र २००० सिसीका कारको अन्तशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको बताएका छन् ।
बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा महतले आम नागरिकले चढ्ने मोटरसाइकलको अन्तशुल्क दर र्यास्नलाइज गरिएको बताए ।
‘आर्थिक वर्ष २०७७/७८ मा २०० सिसीभन्दा बढी क्षमताका ३ अर्ब ६१ करोड मूल्यका २४ हजार ३०५ थान मोटरसाइकल पैठारी भई ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाखसम्म ६२ करोड मूल्यका ३ हजार ६४८ थान मात्र पैठारी भई सोबाट ८५ करोड राजस्व प्राप्त भएको देखिन्छ,’ उनले भने, ‘गत वर्षको तुलनामा संख्यात्मक रुपमा ६६० प्रतिशत, मूल्यगत रुपमा करिब ५८० प्रतिशत र राजस्व संकलनमा करिब ४९० प्रतिशतले कमि आएको देखियो ।’
’गत आर्थिक वर्षमा २०० सिसीभन्दा माथिका मोटरसाइकलमा लाग्ने अन्तःशुल्क मात्र बढेको र अन्तःशुल्कको दर २००० सिसीसम्मका चारपाङ्ग्रे सवारी साधनको भन्दा बढी रहेको देखिएकोले आमनागरिकको आवश्यकताको साधन मोटरसाइकलको अन्तःशुल्क दर अन्य सवारी साधनको महसुल दरको तुलनामा ¥यास्नलाइज गर्न दर समायोजन गरिएको हो,’ डा महतले भने ।
त्यस्तै २०० सिसीदेखि ४०० सिसीका मोटरसाइकलको समूहभित्र कुनै एक निश्चित कम्पनी र घरनाले आयात गर्ने निश्चित ब्राण्डका मोटरसाइकल मात्र नपरी १ दर्जनभन्दा बढी कम्पनीले आयात गर्ने १ दर्जनभन्दा बढी ब्राण्डका करिब ३ दर्जन मोडलका मोटरसाइकल पर्ने पनि उनले बताए ।