जुम्लाका ८ स्थानीय तहलाई २ अर्ब ३७ करोड विनियोजन
जुम्ला– जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०-८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड २२ लाख रकम विनियोजन गरिएको हो ।
विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि रू ३८ करोड ५४ लाख रकम विनियोजन गरिएको छ । सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाका लागि रू ३१ करोड ९० लाख र सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई रू २१ करोड ६६ लाख विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।
त्यस्तै, तातोपानी गाउँपालिकालाई रू ३१ करोड पाँच लाख, कनकासुन्दरी गाउँपालिकालाई रू २९ करोड ३६ लाख, हिमा गाउँपालिकालाई रू २९ करोड ७१ लाख, पातारासी गाउँपालिकालाई रू २६ करोड ८१ लाख र सिञ्जा गाउँपालिकालालाई रू २८ करोड १९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
सङ्घीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ ।