Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता : महासचिव पोखरेल

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।

एमाले प्रचार विभागले आज यहाँ पार्टी मुख्यालयमा आयोजना गरेको ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति  अबको बाटो’ विषयक अन्तरक्रियामा उनले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका हुन् ।

नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिनका लागि राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको उनको भनाइ छ । उनले बलियो राष्ट्रिय राजनीतिक शक्ति स्पष्ट नीति, उद्देश्य, लक्ष्य गन्तव्यमा भएको एमालेमात्र बन्ने बताए ।

“नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि केहीले सांस्कृतिक अतिवादलाई प्रवर्द्धन गर्ने, कहिले  लोकप्रियताका नाममा नेपाल बलियो राजनीतिक शक्ति निर्माण गर्ने प्रक्रिया अवरोध सिर्जना गर्ने खालका प्रयास भइरहेका छन्”, उनले भने । 

उनले बलियो राष्ट्रिय शक्तिको निर्माण नेतृत्वको जग र स्पष्ट गन्तव्यमा आधारित भएरमात्र निर्माण हुने भन्दै त्यसले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने भनाइ राखे ।

उनले एमालेसँग नीति, लक्ष्य र उद्देश्यमा प्रतिस्पर्धा गर्न अन्य राजनीतिक दललाई आह्वान गरे । महासचिव पोखरेलले मुलुकमा रहेको समस्या र चुनौतीलाई समाधान गर्नका लागि सञ्चारमाध्यमले पनि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने प्रक्रियामा सहयोग गर्नुपर्ने धारणा राखे । उनले एमालेलाई बलियो राजनीतिक शक्ति निर्माणका लागि विभाजित भएका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा आउन आह्वान गरेर । उनले एकता र एकीकरणका लागि उदार नीति अवलम्बन गरिएको समेत स्पष्ट पारे ।

महासचिव पोखरेलले एमाले जनताको बहुदलीय जनवादको सैद्धान्तिक आधारमा स्वच्छ प्रतिस्पर्धा गर्ने लोकतान्त्रिक पार्टी भएकाले जनताले रुचाएको बताए ।

सोही अवसरमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले पूर्ण स्वतन्त्रता सहितको लोकतन्त्रलाई विश्वास गर्ने भएकाले पार्टीका गतिविधिलाई सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने बताए । सोही अवसरमा प्रचार विभागको जिम्मेवारी पाउनुभएको नेता गौतमलाई निवर्तमान प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माइन्युट हस्तान्तरण गरे । – रासस

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्