एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई ८८ रनको लक्ष्य
काठमाडौँ - हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।
हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।
पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा सर्वाधिक २८ रन बनाइन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन जोडिन् ।
कविता कुँवरले पहिलो ओभरमा नै इमन फतिमालाई शून्य रनमा आउट गराएपछि नेपालले राम्रो लय समातेको थियो ।
नेपालका लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कविता जोशी, कविता कुँवर र सीता राना मगरले समान २/२ विकेट लिए ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको थियो ।
थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।