कुवेतको प्रधानमन्त्रीमा शेख–अहमदलाई पुनः नियुक्त गर्न संसदलाई निर्देशन
कुवेत सिटी– कुवेतको प्रधानमन्त्रीमा शेख अहमद नवाफ अल अहमद अल–सबाहलाई पुनः नियुक्त गर्न मङ्गलबार शाही आदेश जारी गरिएको कुवेत समाचार एजेन्सी (कुना)ले जनाएको छ ।
कुवेतका युवराज शेख मिशाल अल अहमद अल–अहमद अल–जबर अल–सबाहद्वारा हस्ताक्षरित इमिरी फरमान (निर्देशन)मा भनिएको छ, “नयाँ क्याबिनेट सदस्य मनोनित गर्ने र उनीहरूको नाम बुझाउने जिम्मेवारी शेख अहमदलाई तोकिएको छ ।”
कुवेती अमिरले अघिल्लो सरकारको राजीनामा स्वीकृत गरेको करिब एक हप्तापछि जारी गरिएको यो आदेश जुन २० मा नवनिर्वाचित राष्ट्रिय सभा (संसद) को बैठक बस्नुभन्दा एक हप्ता अघि आएको हो ।
जुन ६ मा कुवेतका मतदाताले १७ औं राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान गरेका थिए । चार वर्षका लागि नयाँ विधायिकामा २०७ जना उम्मेदवारमध्ये ५० जना निर्वाचित भएका थिए ।
गत मार्चमा संवैधानिक अदालतको फैसलापछि पुनः स्थापित भएको कुवेतको संसद् यसै वर्षको मे महिनामा शाही आदेशद्वारा विघटन गरिएको थियो । बितेका वर्षहरूमा, कुवेतको मन्त्रीपरिषद् र संसदबीचको तनावको कारण बारम्बार मन्त्रिमण्डल पुनर्गठन र संसद विघटन भएको छ ।
शेख अहमदको जन्म १९५६ मा कुवेती अमिर शेख नवाफ अल–अहमद अल–जबर अल–सबाहको जेठो छोराको रूपमा भएको थियो । उनले नोभेम्बर २०२० देखि मार्च २०२२ सम्म कुवेत नेशनल गार्डको सह कमाण्डरको रूपमा काम गरेका थिए भने जुलाई २४, २०२२ मा पहिलो पटक प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए ।