ग्रिसमा आप्रवासी सवार डुंगा पल्टिदा ८३ जनाको मृत्यु
रोम - दक्षिणपूर्वी यूरोपेली मुलुक ग्रिसको दक्षिणी समुद्री तट नजिकै अवैध आप्रवासी आप्रवासी बोकेको डुंगा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।
सोही समयमा दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १ सय ४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।
ग्रिस सरकारले यसलाई एउटा ठूलो दुखद् घटना भन्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । पाइलोस नगरबाटको तटबाट करिब ८० किलोमिटरको दूरीमा पर्ने भूमध्य सागरमा उक्त डुंगा डुबेको ग्रिसको सीमारक्षक बलले जनाएको छ । माछा मार्न प्रयोग गरिने उक्त डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाएको जनाइएको छ । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्छन्।
सीमा सम्बन्धी यूरोपेली निकाय फ्रन्टेक्सको हवाई गस्ती टोलीले मंगलबार अबेर भू-मध्यसागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा उक्त डुंगालाई देखेको र सहयोगको प्रस्ताव गर्दा उनीहरुले अस्वीकार गरेको अधिकारीहरुले जनाएका छन् । बारम्बार स्याटेलाइट फोनमार्फत उक्त डुंगालाई सम्पर्क गरिएको तर त्यहाँबाट इटली जानु बाहेक आफूहरुलाई केही नचाहिएको जवाफ पाएको अधिकारीहरुले बताएका छन् ।
स्थानीय समयअनुसार मंगलबार राति करिब १ बजेतिर इन्जिनमा खराबीका कारण उक्त डुंगा दुर्घटना भएको जनाइएको छ । तत्काल उद्धार कार्य सुरु गरिए पनि तीव्र गतिमा चलिरहेको हावाका कारण समस्या उत्पन्न भएको अधिकारीहरुको भनाइ छ।
उक्त डुंगा लिबियाबाट इटलीतर्फ जाँदै गरेको विश्वास गरिएको छ भने त्यसमा सवार अधिकांश व्यक्तिहरु २० वर्ष उमेर आसपासका युवाहरु रहेको जनाइएको छ । जिवितै उद्धार गरिएकाहरुका अनुसार उक्त डुंगामा करिब ५ सयदेखि ७ सय मानिस सवार थिए । पीडित व्यक्ति कुन-कुन देशका नागरिक थिए भन्ने कुरा अझै सार्वजनिक गरिएको छैन ।
ग्रिसका राष्ट्रपति क्याटरिनाले उद्धार गरिएका केही मानिसलाई भेटेर मृतकहरुप्रति दु:ख व्यक्त गरेकी छन् । भूमध्य सागर पार गर्ने प्रयासमा प्रत्येक वर्ष सयौँ आप्रवासीले ज्यान गुमाउने गरेका छन् ।