Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुलिसले जित्यो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि 

शुक्रबार, असार १, २०८०

सुन्दर हरैँचा– मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

इटहरी रङ्गशालामा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद रु तीन लाख हात पार्न सफल भएको छ ।  उपविजेतामा सीमित बनेको एपिएफले रु एक लाख ५० हजार पाएर चित्त बुझाएको छ । खेलको पहिलो सेट २५–१९ ले जितेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुँदै रु ५५ हजार पुरस्कार पाइन् । बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ घोषित हुन सफल भए । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रूपेश विष्ट भए । उनीहरूले जनही रू १५ हजार प्राप्त गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्यसचिव हंशराज वाग्ले, नेपाल भलिबल सङ्घका उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल सङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको  थियो । प्रतियोगिताका लागि खेलकुद विकास बोर्डले रु २५ लाख छुट्याएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्