कार्की प्रधानन्यायाधीश नियुक्त, आजै सपथ
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गरिएकोे राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै कार्की प्रधानन्यायाधीश नियुक्त भएका हुन् । संसदीय सुनुवाइ समितिको आज बिहान बसेको बैठकले उनको नाम अनुमोदन गरेको थियो ।
उनलाई गत वैशाख २५ गते प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो।
बिहीबार कार्कीले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए । उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए । आफूले गोला प्रथा लागू गरेपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए।
कार्कीले आजै प्रधानन्यायाधीशको शपथ लिने कार्यक्रम छ ।