युएसएआइडीद्वारा महालेखापरीक्षक सहयोग परियोजनाको शुभारम्भ
काठमाडौँ– संयुक्त राज्य अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)का काउन्सेलर क्लिन्टन ह्वाइटले आज युएसएआईडी महालेखापरीक्षक सहयोग परियोजनाको आज शुभारम्भ भएको घोषणा गरेका छन् ।
नेपाल सरकारको महालेखापरीक्षकको कार्यालय र अमेरिकी सरकारको जवाफदेहिता सम्बन्धी कार्यालय, सेन्टर फर अडिट एक्सलेन्सबीचको यो साझेदारी जवाफदेहिता अभिवृद्धि गर्न र पारदर्शिता प्रवर्द्धधन गर्नप्रति लक्षित रहेको छ ।
काउन्सेलर ह्वाइटले भने, ‘युएसएआईडी महालेखापरीक्षक सहयोग परियोजनाले महालेखापरीक्षकको कार्यालय र युएसएआइडीबीचको सहकार्यमूलक साझेदारीलाई झल्काउँछ । जालसाजी पत्ता लगाउने महालेखापरीक्षकको कार्यालयको क्षमतालाई बलियो बनाउने र सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न नेपाल सरकारको नीति तथा कार्यविधिको कार्यान्वयनलाई बलियो बनाउने साझेदारको साझा लक्ष्य रहेको छ ।’
यस सहकार्यले महालेखापरीक्षकको कार्यालयलाई लेखापरीक्षणको गुणस्तर सुधार गर्नका लागि तालिम तथा प्राविधिक सहायता प्रदान गर्ने लक्ष्य लिएको छ । साथै, प्रशिक्षण तथा परामर्शमार्फत परिणामको प्रभावकारी सञ्चार र दिगो क्षमता अभिवृद्धि गर्ने लक्ष्यसमेत लिइएको छ ।
युएसएआईडी महालेखापरीक्षक सहयोग परियोजनामार्फत युएसएआईडी÷नेपाल र अमेरिकी सरकारको जवाफदेहितासम्बन्धी कार्यालय, सेन्टर फर अडिट एक्सलेन्सले नेपालको शासनमा पारदर्शिता, जवाफदेहिता र निष्ठाका उच्चतम मापदण्डलाई कायम राख्ने कार्यमा महालेखा परीक्षकको कार्यालयको क्षमतालाई बलियो बनाउने लक्ष्य राखेको छ ।
अमेरिकी सरकारको जवाफदेहितासम्बन्धी कार्यालय, सेन्टर फर अडिट एक्सलेन्सको विज्ञताको उपयोग गरेर र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासको पालना गरेर यस सहकार्यले नेपालमा सुशासनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
काउन्सेलर ह्वाइट नेपालको तीन दिने भ्रमणमा छन् । भ्रमणको क्रममा उनले नेपाल सरकार, नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी र व्यवसायीसँग भेटघाट गर्नेछन् र दशकौँ लामो मित्रतालाई बलियो बनाउने क्रममा अमेरिका र नेपालबीचको जारी सहकार्य तथा साझेदारीबारे छलफल गर्नेछन् ।