हङकङविरुद्धको खेल रद्द भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौँ– एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत हङकङविरुद्धको खेल रद्द भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
नेपाल र हङकङबीचको खेल टससमेत हुन नसकी रद्द भएपछि नेपाल र हङकङले १÷१ अंक बाडेका छन् ।
अंक बाडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ ।
हङकङलाई पराजित गरि नेपाल इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा प्रवेशको सम्भावना जीवित राख्न चाहन्थो । नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल पनि वर्षाका कारण रद्द भएको थियो ।
थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप नेपाली महिला टोलीका लागि पहिलो सहभागिता हो ।