राजनीतिज्ञमा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने : पूर्वप्रधानन्यायाधिश कार्की
काठमाडौँ– पूर्वप्रधानन्यायाधिश सुशिला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताएकी छन् ।
शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक ‘शासन र शासक, नेपाली दुखका विविध आयाम’ पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरि कमाएर बस्ने प्रवृति भन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन् ।
राजनीतिमा गएर जुका जस्तो टासिएर तीन पुस्ता, चार पुस्तालाइ पुग्ने प्रवृतिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ । उनले गरिव जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौं दिइरहनुपर्ने प्रवृति पनि समाप्त हुनुपर्ने जिकिर गरिन् । उनले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई पाखा लगाएर युवाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन् ।
त्यस्तै, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको धारणा राखे । उनले भ्रष्टाचार बिरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई शसक्त रुपमा अघि बढाउनुपर्ने बताए । उनले संघीयता संगै भ्रष्टाचार बिकेन्द्रीकरण हुने संभावनामा सजक रहनुपर्ने उल्लेख गरे । सदनमा भ्रष्टाचार र अनियमिताका बारेमा आवाज उठाउदा डराउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
उनले भ्रष्टाचारका बिषयमा सांसदले संसदमा आफ्नो पार्टी भन्दा पनि माथि उठेर बोल्न पाउनुपर्ने बताए ।