नेभिगेशन
विश्व

सम्बन्ध विच्छेदपछि पहिलो भ्रमणमा इरान पुगे साउदी विदेशमन्त्री

साउदी अरबले शिया नेतृत्वको इरानसँग सम्बन्ध विच्छेद गरेको थियो

तेहरान– साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहान इरानको पहिलो भ्रमणका क्रममा शनिबार तेहरान आइपुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । 

भ्रमणका क्रममा साउदी अरबका उच्च कूटनीतिज्ञले तेहरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहलगायत इरानी अधिकारीसँग पत्रकार सम्मेलन अघि भेटवार्ता गर्ने अपेक्षा गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

राजकुमार फैसलको विदेशमन्त्रीका रूपमा पहिलो पटक इरानको भ्रमणका क्रममा इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गर्ने योजना रहेको साउदी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा रियादले शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएको विरोधमा भएको प्रदर्शनका क्रममा तेहरानस्थित दूतावास र उत्तरपश्चिमी शहर मशादस्थित वाणिज्य दूतावासमा आक्रमण भएपछि सुन्नी मुस्लिम शक्ति साउदी अरबले शिया नेतृत्वको इरानसँग सम्बन्ध विच्छेद गरेको थियो । तर गत मार्चमा दुई देशबीच सम्बन्ध सुधार्न र आ–आफ्ना दूतावास खोल्न चिनियाँ मध्यस्थतामा भएको सम्झौताले क्षेत्रीय सम्बन्धलाई परिवर्तन गरेको थियो ।

इरानी सरकारका प्रवक्ता अली बहादोरी जाहरोमीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार राजकुमार फैसलले भ्रमणका क्रममा तेहरानस्थित साउदी कुटनीतिक नियोग पुनः खोल्नका लागि केही कदम चाल्ने अपेक्षा गरिएको छ ।

गत जुन ६ मा इस्लामिक गणतन्त्र लेबनानले साउदी अरबमा रहेको आफ्नो दूतावास र वाणिज्य दूतावास पुनः खोलेको थियो ।

इरानी साजान्डेगी दैनिकले शनिबार साउदी दूतावासले तेहरानको एक होटलमा पुनः स्थापना गर्ने र त्यसपछि इरानी राजधानीमा आफ्नो स्थायी स्थानलाई सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन