जिम्बावे विरुद्ध नेपालको कीर्तिमानी ओपनिङ साझेदारी, आशिफले पनि कटाए हाफ सेन्चुरी
काठमाडौँ– आजबाट जिम्बावेमा सुरू भएको आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ। नेपाली ओपन कुशल भुर्तेल र आशिफ शेखले कीर्तिमानी साझेदारी गरेका हुन् ।
घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले विनाविकेटको क्षतिमा ११५ रन बनाएसँगै नेपालले एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारी गरेको हो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले २६ ओभर चलिरहदा कीर्तिमान बनाएका हुन्।
यसअघि नेपालको पहिलो विकेटको लागि ११४ रनको साझेदारी गरेको थियो। यो साझेदारी पनि कुशल र आसिफले नै ओमानविरुद्ध सन् २०२२ मा गरेका थिए।
यता १५९ रन बनाएसँगै नेपालले कुनै पनि विकेटका लागि अहिलेसम्मकै अर्को कीर्तिमान बनाएको छ। कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्। यस्तै, सोही खेलमा अर्का ओपनर आशिफ शेखले पनि अर्धशतक बनाएका छन् ।
यसअघि कुशलले १ रनमा जीवनदान पाएका थिए। विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए।