बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरेकोप्रति एमालको आपत्ति
काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले पर्यटन मन्त्रालय अन्तर्गत बिनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालयगत बजेटको छलफलका क्रममा पर्यटन मन्त्रालय अन्तर्गत बिनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम नराखी प्रदेश १, २, ३ लेखिएको भन्दै आपत्ति जनाएको हो ।
मन्त्रालयगत बजेटको छलफल सुरु हुने बितिकै एमाले सचेतक महेश बर्तौलाले प्रदेशको नामाङ्करण भइसकेको अवस्थामा त्यसलाई संघीय संसदले अस्वीकार गरेर संख्याका आधारमा प्रदेशलाई उल्लेख गरिनु उचित नभएको बताए । उनले प्रदेशको नाम अंकमा लेखेको विषयलाई सुधार गरे मात्रै छलफल अघि बढ्ने बताएपछि पर्यटनमन्त्री सुदन किरातीले प्रदेशको नाम अंकमा लेखेको विषयलाई भुलसुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।
तर एमाले सांसदहरुले प्रदेशको नाम नै उल्लेख गरेर बजेट पुस्तिका आउनुपर्ने अन्यथा छलफल अघि बढ्न नसक्ने अडान राखेपछि सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूचीबाट पर्यटन मन्त्रालयको मन्त्रालयगत छलफल गर्ने कार्यसूचि हटाएका थियो । त्यसपछि अन्य मन्त्रालयमाथिको बजेटमा छलफल भएको छ ।