क्रोएसियालाई हराउँदै स्पेनले जित्यो नेसन्स लिगको उपाधि
काठमाडौँ– क्रोएसियालाई हराउँदै स्पेनले युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
नेदरल्यान्ड्समा गएराति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन पहिलो पटक च्याम्पियन बनेको हो ।
निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा स्पेनले ५–४ ले बाजी मार्यो ।
पेनाल्टीमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो, मार्को एसेन्सियो र डानी कार्भाजलले गोल गरे । एमिरिक लापोर्टे भने चुकेका थिए ।
यता, क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रिजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गरे ।
तर, लोभ्रो माजेर र ब्रुनो पेट्कोभिच पेनाल्टीमा चुकेपछि क्रोएसिया उपविजेतामै समेटिएको हो । स्पेनका गोलकिपर युनाई सिमोनले दुवै पेनाल्टी बचाएका थिए ।
स्पेनको यो ११ वर्षपछिको पहिलो अन्तराष्ट्रिय उपाधि हो । स्पेनले पछिल्लो पटक २०१२ मा युरोकप जितेको थियो ।
यता, माड्रिड नेतृत्वको क्रोएसिया भने पहिलो ठूलो उपाधि उचाल्नबाट दोस्रो पटक चुकको छ । सन् २०१८ को विश्वकप फाइनलमा पनि क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपाधिविमुख भएको थियो ।
आइतबार साँझ भएको अर्को खेलमा आयोजक नेदरल्यान्ड्सलाई ३–२ ले हराउँदै इटाली तेस्रो भएको छ ।