४ वडाध्यक्षका लागि पत्याइएका विप्लवको सत्ता यात्रा
काठमाडौँ– मिति– २०७७ साल फागुन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओली, उप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँगै मञ्चमा आसिन देखिए– ‘राज्य विप्लवको अभियोग पखाल्ने प्रयोजनको लागि तयार पारिएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न तयार’ विप्लव ।
विप्लव अर्थात नेत्रविक्रम चन्द ‘विप्लव’ ।
त्यो बेला सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमति भएको थियो । सहमतिमा उल्लेख थियो–
१) दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशका राजनीतिक समस्याहरूमा वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२) नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३) नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ ।
सो सहमतिपत्रमा हस्ताक्षर भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवको हात समातेर उचाले । बम पड्काउदै हिडेको विप्लव समूहलाई राज्यको मुलधारमा ल्याउन सकेको भनेर सो समयमा सरकारको प्रशंसा पनि भयो ।
तर, त्यसपछिको लामो समयसम्म विप्लव ‘सिन’मा रहेनन् । यही बीचमा सत्ता फेरबदल भयो, स्थानीय तह, प्रदेश र संघको निर्वाचन भयो । यी राष्ट्रिय कार्यक्रममा विप्लव कतै देखिएनन् ।
अघिल्लो वर्षको वैशाखमा भएको स्थानीय तह निर्वाचनमा विप्लव देखिन खोजेका थिए । स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवादले उनको पार्टी नै विभाजन भएको थियो । केन्द्रीय समितिले निर्वाचनमा भाग नलिने निर्णय गरेपनि महासचिव विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचनमा होमिए । यही कारण पार्टी फुट्यो ।
निर्वाचनमा होमिए पनि विप्लवको पार्टीले देशभरमा जम्मा ४ वटा वडामा मात्रै वडाध्यक्ष जित्यो । ४ जना केन्द्रीय सदस्यले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । ती ४ जना नै पराजित भए ।
केन्द्रीय सदस्य चुणामणि वलीले रोल्पाको गंगादेवी गाउँपालिकाको अध्यक्षमा, एटम बिसीले पार्टी नेता प्रकाण्डको पालिका कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा, संविधानसभा सदस्यसमेत रहेकी धीरेन्द्रा उपाध्यायले प्रकाण्डकै गृहजिल्ला कालिकोटको रास्कोट गाउँपालिकाको अध्यक्षमा र भेषराज भुसालले पार्टी महासचिव विप्लवको गृह जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए । पराजित ४ जना केन्द्रीय सदस्यमध्ये २ जना (वली र बिसी)को मात्रै जमानत जोगियो । खसेको सदर मतको १० प्रतिशत मत पनि नपाउने उम्मेदवारको जमानत जोगिँदैन ।
विप्लव समूहले रोल्पाका ९ वटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारीसहित अधिकांश वडामा उम्मेदवारी दिएको थियो । नेता ‘प्रकाण्ड’को गृह जिल्ला कालिकोटका ९ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा उम्मेदवारी दिएको थियो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा विप्लव समूहले उम्मेदवारी दिएको थियो ।
तत्कालीन नेकपा (माओवादी)ले २०५२ सालमा जनयुद्ध सुरु गर्नुअघिदेखि नै विप्लव तत्कालीन मशाल हुँदै नेकपा (माओवादी)मा क्रियाशील थिए । सोभन्दा अघि उनी मशालको विद्यार्थी संगठनमा आबद्ध थिए । काठमाडौँको नेपाल ल क्याम्पसमा पढ्दा विप्लव केही गरौं भन्ने भावना भएको व्यक्तिका रुपमा आफूले चिनेको उनका सहपाठीहरू बताउँछन् ।
विप्लवले ८ मंसिर २०७१ मा आफ्नै नेतृत्वमा नेकपा (माओवादी) बनाए र रोल्पामा २०७३ फागुनमा भएको पार्टीको आठौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी बनाए । सो महाधिवेशन पनि कपिलवस्तुमा रहेको विप्लवको घरमा उद्घाटन गरेर रोल्पामा हल निर्माण गरी सम्मेलन कक्ष बनाइएको थियो ।
त्यसअघि २०६९ भदौमा बौद्धमा राष्ट्रिय भेलाको आयोजना गरेर मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन गर्दा विप्लव प्रमुख योजनाकारमध्ये पर्छन् । वैद्य नेतृत्वको पार्टीमा उनी करिब २ वर्ष सचिव बने ।
सशस्त्र विद्रोह गरिरहेको माओवादी शान्ति प्रक्रियामा आएपछि पुनःस्थापित प्रतिनिधिसभाको नाम परिवर्तन गरी व्यवस्थापिक संसद् राखियो । त्यसमा भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीले संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) बराबर सिट पाएको थियो ।
तर, पार्टी अध्यक्ष प्रचण्डले विप्लवलाई सांसद बनाएनन् । २०६४ सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा पनि विप्लवले टिकट पाएनन् । र, २०७० को संविधानसभाको दोस्रो निर्वाचन र २०७४ को आम निर्वाचनमा विप्लव निर्वाचन भाड्ने योजनाका साथ प्रस्तुत भएका थिए ।
भलै, २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा भने विप्लवको पार्टी निर्वाचनमा सहभागी भयो । उनको पार्टीमा अहिले ४ जना वडाध्यक्ष छन् । जनप्रतिनिधिका रुपमा विप्लवसँग भएको शक्ति अहिले यतिमात्रै हो ।
आज घोषणा गरिएको समाजवादी मोचार्, नेपालमा विप्लव पनि सहभागी छन् । अब उनी सहभागी भएको मोर्चासँग प्रतिनिधिसभामा ५४ जना सांसद छन् । धेरै पालिकामा प्रमुख र उपप्रमुख छन् । संघ, प्रदेश र स्थानीय तहको सरकारमा अब मोर्चाको एक घटकको रुपमा उनको सहभागिता भएको छ ।
२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हात समाउँदा विप्लवलाई शान्तिपूर्ण रुपमा गतिविधि गर्न पाउने सुविधा प्राप्त भएको थियो । अहिले फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको हात समाएका छन् । प्रधानमन्त्री ओलीले हात समाउँदा अघोषित आतकंकारीको बिल्लाबाट मुक्त भएका विप्लव प्रधानमन्त्री प्रचण्डले हात समाउँदा भने सत्ताको केन्द्रमा पुगेका छन् ।
जनताबाट ४ जना वडाध्यक्षको लागि मात्रै पत्याइएका विप्लव प्रधानमन्त्रीले पत्याउँदा सत्ताको केन्द्रमा पुगेका छन् । र, २०५२ सालदेखिको ‘सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने’ उनको रुमानी सपना अब ४ जना वडाध्यक्षको बलमा तीन वटै तहको सत्ताको केन्द्रमा पुगेको छ । कुनै बेला प्रचण्डले गृहमन्त्री बनाउँछु भन्दा ‘प्रधानमन्त्री बनाउने व्यक्ति बन्छु’ भनेर अस्वीकार गर्ने विप्लवको अवको यात्रा कस्तो होला ? यो भने प्रतिक्षाको विषय छ ।
नेपालको राजनीतिक आन्दोलन जहिले पनि एउटा मात्रै मुद्दामा केन्द्रित भयो । २००७ सालको आन्दोलनको मुद्दा राणा फाल्ने मात्रै थियो । २०४६ सालको आन्दोलन पनि पञ्चायत फाल्ने मुद्दामा मात्रै रह्यो । २०६२-६३ को आन्दोलनले सक्रिय राजतन्त्र फाल्ने बाहेकको सपना देखेन, कोरेन । त्यसैले यी आन्दोलन सफल भएपछि आर्थिक, सामाजिक विकास के कसरी गर्ने, जनताको जीवनस्तर कसरी माथि लैजाने, शिक्षा, स्वास्थ्य, परराष्ट्र सम्बन्ध कसरी अघि बढाउने भन्ने विषयमा आन्दोलनबाट आएका दलहरू रनभुल्लमा परे । फलतः नेपालका ठूल–ठूला राजनीतिक परिवर्तनहरू फेरि अर्काे परिवर्तनको तयारीका लागि मात्रै जस्ता देखिए ।
लामो समय राज्यविरुद्धको आन्दोलनमा रहेका, गरिब र दूरदराजका जनताका लागि भन्दै लडेका विप्लव अब सत्ताको केन्द्रमा पुगेका छन् । अहिले उनी जसरी सत्ताको केन्द्रमा पुगेका छन्, त्यो बाटो गलत छ । जनताबाट ४ जना वडाध्यक्षको लागि मात्रै पत्याइएका विप्लव राजनीतिक सौदाबाजी गरेर सत्ताको केन्द्रमा पुगेका छन् । अब उनले के कस्तो गर्लान् भन्ने शंसय बाँकी नै छ ।
हुन त विप्लव शब्द आफैमा धेरै प्रकारको अर्थ दिने शब्द हो । प्रज्ञा प्रतिष्ठानले बनाएको शब्दकोषमा विप्लवको ७ वटा अर्थ दिइएको छ ।
१) अशान्ति, उत्पात, उपद्रव ।
२) ठूलो परिवर्तन, उथलपुथल ।
३) पानीमाथि उत्रने काम, पौडाइ ।
४) महामारी, सर्वनाश, स्वाहा, विध्वंश ।
५) विद्रोह, उग्रकान्ति, भयङ्कर विरोध, दङ्गा ।
६) विनाशकारी वर्षा, बाढी ।
७) सङ्कट, आपत्ति, विपत्ति ।