युक्रेनलाई रूसको चेतावनी–पश्चिमा हतियारले क्रिमियालाई निशाना बनाए तीव्र प्रतिकार
मस्को– युक्रेनी सेनाले रूस र क्रिमियाको प्रायद्वीपमा आक्रमण गर्न पश्चिमा सेनाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गर्ने योजना बनाएको मङ्गलबार मस्कोले दाबी गरेको छ ।
“युक्रेनको सशस्त्र बलको नेतृत्वले क्रिमियालगायत रूसी भूभागमा हिमर्स र स्टॉर्म स्याडो क्षेप्यास्त्रबाट आक्रमण गर्ने योजना बनाएको छ,” रक्षामन्त्री सर्गेई शोइगुले सैन्य अधिकारीसँगको भेटमा भने ।
शोइगुले सन् २०१४ मा मस्कोले कब्जा गरेको रूसभित्र वा काला सागरको इलाकामा आक्रमण गर्न हतियारको प्रयोग गरिएमा त्यसको रूसले तीव्र प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
“विशेष सैन्य अभियानको क्षेत्र बाहिर यी क्षेप्यास्त्रहरूको प्रयोगको अर्थ संयुक्त राज्य अमेरिका र बेलायतको द्वन्द्वमा पूर्ण संलग्नता हुनेछ र बदलामा युक्रेनका निर्णायक केन्द्रहरूमा तत्काल आक्रमण हुनेछ,” शोइगुले भने ।
सन् २०२२ को फेब्रअरीमा रूसले युक्रेनमा सैनिक पठाएपछि कीभलाई समर्थन गर्न अन्तर्राष्ट्रिय गठबन्धन निर्माण गर्दै अमेरिकाले युक्रेनका लागि सैन्य समर्थनका लागि दबाब दिएको छ र दर्जनौं देशबाट सहयोग समन्वय गरेको छ ।
मस्कोले पश्चिमा देशहरूले युक्रेनलाई हतियार दिएर रूसविरुद्ध प्रत्यक्ष युद्ध गरेको आरोप लगाउँदै आएको छ ।
हालैका हप्ताहरूमा रूसका शहरहरू र क्रिमियाका रणनीतिक स्थानहरूमा ड्रोन आक्रमणहरू भएका छन्, तर कीभले घटनाहरूको जिम्मेवारी लिएको छैन ।