साफ च्याम्पियनसिप आजदेखि, नेपाल र कुवेत भिड्दै
काठमाडौं - १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बैङ्गलुरुमा शुरु हुँदैछ। भारतको बैङ्गलुरुस्थित श्री कान्तिराभा रंगशालामा आज साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ।
साफका ६ र २ आमन्त्रित राष्ट्र गरि ८ टोली सहभागी छन्। साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै खेल्दै आएको नेपालको अहिलेसम्मको सफलता भनेको एक पटक उपविजेता बन्नु मात्र हो। गत संस्करण माल्दिभ्समा भारतसँग ३–० गोलले हारेको नेपाल साबिक उपविजेता हो।
मध्यपूर्वी राष्ट्र कुवेत वरियताका आधारमा नेपालभन्दा बलियो टोली हो। फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत ३१ स्थान माथि १४३ औं स्थानमा छ। १० पटक अरेवियन गल्फ कप जितेको कुवेतले १ पटक विश्वकप र १० पटक एसियन कप समेत खेलिसकेको छ।
नेपाल र कुवेतबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले १ मात्र बराबरी गरेको छ भने बाँकी ८ खेल कुवेतले जितेको छ। २०१९ मा भएको मैत्रीपूर्ण खेलमा उसलाई गोलरहित बराबरीमा रोकेको नेपाल पछिल्लो पटक कुवेतसँग गत वर्ष एसिया कप छनोटको खेलमा भने ४–१ गोलले हारेको थियो।
यि दुईबीच पहिलो पटक सन् १९८२ एसिया कप छनोटमा भेट भएको थियो। जहाँ नेपाल ३–१ गोलले हारेको थियो । त्यस समय वाईबी घलेले गोल गरेका थिए भने त्यसको ४० वर्षपछि गत वर्ष एसिया कप छनोटमै दर्शन गुरुङले कुवेतविरुद्ध गोल गरे। कुवेतविरुद्ध नेपालले अहिलेसम्म यहि २ गोल मात्र गर्दा ३४ गोल खाएको छ।