कीर्तिमानी खेलमा रोनाल्डोको निर्णायक गोल
काठमाडौँ– आफ्नो कीर्तिमानी खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युरोकप फुटबल प्रतियोगिताको छनोटमा पोर्चुगलले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली आइसल्याण्डलाई १–० गोल अन्तरको झिनो अन्तरले हराएको हो ।
पोर्चुगलको जितमा रोनाल्डोले निर्णायक गोल गरे । उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यस्तै खेलको ८० औं मिनेटमा विलियम विलिमसनले रातो कार्ड पाएपछि आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो । यसको फाइदा पोर्चुगलले उठायो ।
आइसल्याण्डविरुद्धको खेलसँगै रोनाल्डोले पोर्चुगलका लागि २०० अन्तर्राष्ट्रिय खेल समेत पूरा गरेका छन् । २०० खेल खेल्ने उनी एकमात्र खेलाडी बनेका छन् । यो विश्व कीर्तिमान हो ।
३८ वर्षीय रोनाल्डोको यो १२३ औं अन्तर्राष्ट्रिय गोल हो ।
यस जितपछि पोर्चुगलले ४ खेलमा १२ अंक जोडेको छ । पोर्चुगल समूह ’जे’को शीर्ष स्थानमा रहेको छ ।
आइसल्याण्ड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । आगामी वर्ष जर्मनीमा युरोकप हुँदैछ ।