Nic Ad Nic Ad
Nic Ad Nic Ad

बझाङ दुर्घटना अपडेट : जोशी र भण्डारी खतरामुक्त

बुधबार, असार ६, २०८०

जानकी– बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परेका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताएका छन् । उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा भएको उनीहरू बोल्नसक्ने अवस्थामा छन् । 

उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुबै जनाको पछाडीको भागको मेरुदण्डमा समस्या देखिएको डा पोख्रेलले जानकारी दिए । 

जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडीको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ । उनीहरु दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा पोख्रेलले बताए । 

उनले भने, ‘शल्यक्रिया यही पनि गर्न सकिन्छ तर परिवारका सदस्य नआइकन हामीले गर्न मिल्दैन । उहाँहरुको सल्लाहमा हामीले शल्यक्रिया गर्ने हो ।' 

जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जिप चालक हुन् भने भण्डारी अङ्गरक्षक हुन् । उक्त गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजु पर्ने जयादेवीको पनि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा हिजै बाटोमै मृत्यु भएको थियो । 

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ९१००१ झ ४८० नम्बरको जिप  डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा धारछडस्थित  सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्