‘राजनीतिक भागबण्डा र नियुक्तिले विश्वविद्यालयको शिक्षामा सुधार हुन सकेन’
काठमाडौँ– नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिले शिक्षामा कुनै परिवर्तन गर्न नसक्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा भण्डारीले मुलुकका विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउनुपर्ने भएपनि राजनीतिक भागबण्डका आधारमा हुने नियुक्तिका कारण विश्वविद्यालयमा कुनै सुधार हुन नसकेको बताए ।
उनले कति अस्पताल खोल्ने, खोल्न दिने की नदिने भन्नेमा नै अल्झेर बस्न नहुने भन्दै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उल्लेख गरे । उनले जग्गा बेचेर आफ्ना छोराछोरीलाई पढाउन बाहिर पठाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने धारणा राखे ।
त्यस्तै, एमालेका सचेतक महेशकुमार बर्ताैलाले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको आन्दोलनप्रति समर्थन जनाउदै मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोध गरे । उनले सामुदायिक विद्यालयका कर्मचारीहरुको माग छिटो भन्दा छिटो कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, सांसद अमेरश कुमार सिंहले सानो देशमा १०–१२ वटा विश्वविद्यालय भएपनि गुणस्तरिय शिक्षामा कुनै योगदान पुराउन नसकिएको बताए । विश्वविद्यालयलाई आफ्ना मान्छे भर्ति गर्ने ठाँउ बनाउनुभन्दा एउटै विश्वविद्यालयलाइ पूर्वाधारयुक्त बनाएर गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने उनले बताए ।
युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटको छलफलमा भाग लिदै अन्य सांसदहरुले संविधानमा मौलिक हकमै राखिएका विषयमा समयमा नै कानून बन्न नसक्नु दुखद भएको बताएका थिए । उक्त मन्त्रालयहरुको बजेटमाथि बिभिन्न दलका ८ जना सांसदहरुले खर्च कटौतीको प्रस्ताव राखेका छन् ।