वेस्ट इन्डिजविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
काठमाडौँ – आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज टेस्ट राष्ट्र वेष्ट इन्डिजसँग खेल्दैछ ।
खेल अपरान्ह १२ः४५ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुई–दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।
समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो ।
लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान २–२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।
त्यस्तै लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र एक खेल खेलेको नेदरल्याण्ड्स पुछारमा छ ।
समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, युएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् ।
त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
यसैबीच, नेपालका कप्तान राेहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
नेपालले आज अमेरिकासँग खेलाएको टोलीलाई नै मैदानमा उतारेको छ ।