Nic Ad Nic Ad
Nic Ad Nic Ad

लोपोन्मुख डङ्गर जातका गिद्ध मृत फेला

बिहीबार, असार ७, २०८०

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा लोपोन्मुख डङ्गर जातका गिद्ध मृत फेला परेका छन् ।

जिल्लाको कावासोती नगरपालिका–३, स्थित नमूना सदरमुकामको केरुङ्गे खोला नजिक चारवटा गिद्ध मृत पेला परेको संरक्षणकर्मी डिबी चौधरीले बताए ।

आज साँझ गिद्ध मृत अवस्थामा फेला परेका हुन् । गिद्ध विषाक्त मासु खाएका कारण मरेको हुन सक्ने संरक्षणकर्मी चौधरीले बताए । “चारवटा गिद्ध मृत भेटिएका छन्, विषाक्त खानाकै कारण मरेको अनुमान छ”, संरक्षणकर्मी चौधरीले भने । साँझको समय भएको र चारवटा गिद्ध फेला परेको भए पनि अन्य गिद्धसमेत मरेको हुन सक्ने उनले बताए । 

गिद्ध मरेको स्थानमा स्याल जस्तो देखिने जनावर मरेको अवस्थामा फेला परेको उनले बताए । सोही जनावरको मासु खाएकाले मरेको हुन सक्ने अनुमान गरिएको उनले बताए । गिद्ध मरेको विषयमा पशु प्राविधिकले अनुसन्धान गरिरहेको उनले बताए । गएको फागुन महिनामा समेत यसै क्षेत्रमा स्यालको विषाक्त मासु खाएर पाँचवटा गिद्ध मरेका थिए । नमूना सदरमुकाम निर्माण स्थल क्षेत्रमा रहेका सिमलका रूखमा गिद्धको बासस्थान रहेको छ । 

हाल गिद्ध मरेको स्थान गिद्ध संरक्षण गरिएको जटायु रेष्टुरेन्टदेखि करिब छ किलोमिटरको दूरीमा समेत पर्दछ । कावासोतीकै पिठौलीमा गिद्ध संरक्षण गरिएको छ । संरक्षण गरिएका गिद्धको आहार विहार गर्ने स्थान नजिक पटक पटक गिद्ध मर्दा संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मी एवं जटायु रेष्टुरेन्टका व्यवस्थापक डिबी चौधरीले बताए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्