इमर्जिङ टिम्स एसिया कपमा पनि नेपाल भारत र पाकिस्तानकै समूहमा
काठमाडौँ– एसियन क्रिकेट काउन्सिल एसिसीले आयोजना गर्ने एसिसी इमर्जिङ टिम्स एसिया कप मा नेपाल भारत र पाकिस्तानकै समूहमा परेको छ ।
असार २९ देखि साउन ७ गतेसम्म श्रीलंकामा आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ ।
यो समूहमा नेपाल भारत, पाकिस्तान र युएईसँग परेको छ ।
समूह ‘एࡤमा आयोजक श्रीलंकासँगै ओमान, बंगलादेश र अफगानिस्तान छन् । इमर्जिङ् टिम्स एसिया कपमा टेस्ट राष्ट्रका यू–२३ वा ए टिमले खेल्नेछन् ।
गत वैशाखमा नेपालमै सम्पन्न एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेका नेपाल, युएई र ओमानले एसोसिएटको प्रतिनिधित्व गर्दै इमर्जिङ एसिया कप खेल्न पाएका हुन् ।
पाँच टेस्ट टिमले भने आफ्नो ए टिम पठाउनेछन् । नेपाल टिम हाल एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाव्वेमा छ । विश्वकप छनोट सकिएपछि सम्भवतः नेपालको टिम घोषणा हुनेछ ।
नेपालले सन् २०१६, २०१७ र २०१९ गरी तीनपल्ट इमर्जिङ टिम्स एसिया कप खेलेको छ । सन् २०१९ यता प्रतियोगिता आयोजना भएको छैन ।
संयोगवश एसिया कपमा पनि नेपाल भारत र पाकिस्तानकै समूहमा परेको छ । ३१ अगस्टदेखि १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने यस प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो प्रतियोगितामा भने टेस्ट राष्ट्रले आफ्नो फुट टिम पठाउनेछन् ।