Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप छनोटको समूह चरणबाटै बाहिरियो युएई

शुक्रबार, असार ८, २०८०

काठमाडौँ - स्कटल्याण्डसँग १११ रनको फराकिलो अन्तरले हारेसँग युएई विश्वकप क्रिकेट छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेल आयरल्याण्डसँग खेल्न बाँकी रहेको युएईको त्यो खेल जिते पनि सुपर सिक्समा पुग्ने सम्भावना छैन ।

जिम्बाव्वेको बुलवायोमा जितका लागि २८३ रनको लक्ष्य पछ्याएको युएई ३५.३ ओभरमा १७१ रनमा अल आउट भयो ।

युएईका मोहमद वासिमले ३६ तथा बसिल अहमदले ३० रन बनाए ।

स्कटल्याण्डका सफयान सरिफले ६.३ ओभर मात्र बलिङ गरेर ४ विकेट लिए । क्रिस सोलेले ३ विकेट चट्काए ।

यसअघि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो ।

उसका लागि कप्तान रिची बेरिङ्गटोनले शतकीय पारी खेले । १३६ बलमा उनले ९ चौका र ३ छक्का हान्दै १२७ रन बनाए ।

लगातार दोस्रो खेल जितेको स्कटल्याण्डको सुपर सिक्समा पुग्ने सम्भावना बलियो भएको छ । यो समूहमा स्कटल्याण्डसँगै श्रीलङ्का र ओमानको समान ४ अङ्क छ । तर ओमानले एक खेल बढी खेलेको छ । दुवै खेल हारेको आयरल्याण्डले भने कुनै अङ्क जोड्न सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्