योगेश भट्टराईको दावी– एमालेले मिसन–८४ मा १५० सिट हासिल गर्छ
सर्लाही– नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्ने दावी गरेका छन् ।
शनिबार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन–८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दावी गरेका हुन् ।
उनले अहिलेको जस्तो ‘टाइमपास’ सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धरासायी बनाउने कार्यलाई बन्द गर्ने जिकिर गरे । अहिलो संसदमा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सहि दिशा नदिने उनले बताए ।
उनले यसअघि एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको भएपनि मधेशका नेता कार्यकताहरु एकजुट भएका कारण उक्त प्रयास असफल भएको बताए । उनले केहि समय अघि मधेश कै नाममा मुलुक बिभाजन गर्न खोजेको र अन्तराष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको धारणा राखे ।