Nic Ad Nic Ad
Nic Ad Nic Ad

गर्भगृहको सुन जोख्न अख्तियारको टोली पशुपतिमा 

आइतबार, असार १०, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर परिसरमा पुगेर गर्भगृहको सुन जोख्न थालेको छ । दुई वर्षअघि राखिएको सुनको जलहरीमा तौल कम भएको प्रश्न उठेपछि सुन जोख्न थालिएको हो ।

आइतबार दिउँसो अख्तियारको टोली पशुपति मन्दिरमा पुगेको हो । अख्तियारको टोली पुग्नुअघि पशुपतिनाथ मन्दिर क्षेत्रबाट भक्तजनलाई बाहिर निकालिएको थियो । चाँदीको जलहरी पुरानो भएपछि दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिको मूर्तिमा सुनको जलहरी राख्ने विवादास्पद निर्णय गरेको थियो ।

१०८ किलो सुन किनेको पशुपति क्षेत्र विकास कोषले करिव १०६ किलो सुनमात्रै खपत गरेको भनी उजुरी परेपनि अख्तियारले यो विषयमा अनुसनधान अघि बढाएको थिएन । त्यही उजुरी अनुसन्धानका क्रममा अख्तियारले जलहरी जाँच्न थालेको हो ।

अनुसन्धानका क्रममा अख्तियारको टोलीले पशुपति मन्दिरबाट जलहरी निकाल्नेछ । मन्दिर परिसरमा ल्याएर नापजाँच गर्नेछ । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरुलाई राखिएको छ ।

पशुपतिमा जलहरी निर्माणका लागि लागत स्टिमेट तयार गर्दा १०८ किलो सुन लाग्ने अनुमान भएको थियो । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । पशुपति क्षेत्र विकास कोषले पनि सर्वोच्च अदालतमा पठाएको जवाफमा १०३ किलो ७७३ ग्राम सुन किनेको भनी उल्लेख छ ।

१२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरी राखिएको भन्ने व्यानर नै तयार गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोष सम्बद्ध स्रोतका अनुसार, जलहरी निर्माणका लागि करिव एक सय किलो सुन लाग्ने भएपनि १०८ किलो चाहिने भनी निर्णय भएको थियो ।

सुनका बारेमा प्रश्न उठेपछि कोषका पदाधिकारीले भने रिङ बनाएर पशुपतिनाथको मूर्तिलाई पेटी बनाएर बाँधिएको भनी जवाफ दिएका थिए ।

पछि माइन्यूटमा ‘साथै बाँकी रहेको सुन पशुपतिनाथलाई पेटी र रिङ बनाएर चढाइयो’ भनी थपिएको थियो । महालेखा परीक्षकको कार्यालयले पनि आफ्नो प्रतिवेदनमा सुनको जलहरीमा भनिएको भन्दा १० केजी कम सुन प्रयोग भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्